काठमाडौं । बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७ इलेक्ट्रिक एसयूभीको औपचारिक बिक्री सुरु गरेको छ । यो मोडल गत वर्षको नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको भए पनि अब मात्र यसको व्यावसायिक रूपमा बजारमा प्रवेश भएको हो ।
सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने, अर्ली बर्ड अफर अन्तर्गत २ लाख छुट दिँदै कम्पनीले हाल ७२ लाख ९९ हजारमा बिक्री शुरू गरेको हो । यस एसयूभीमा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक राखिएको छ, जसले एक पटकको फुल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्न सक्ने कम्पनीको दाबी छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा निर्मित यो गाडीमा बीवाईडी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, सेल–टु–बडी प्रविधि, प्याटेन्टेड ब्लेड ब्याट्री टेक्नोलोजी, डबल विसबोन सस्पेन्सन, ३६० डिग्री प्यानोरामिक भ्यु, भेइकल टु लोड लगायतका अत्याधुनिक फिचरहरू दिइएका छन् ।
डिजाइनका हिसाबले, सिलायन ७ मा सिल आकारको हेडलाइट, क्लोज अफ ग्रिल, १९ र २० इन्चका ड्युअल टोन अलोय ह्विल, फ्लश टाइप डोर ह्यान्डल र एलईडी टेललाइट सहितको एग्रेसिभ स्पोर्टी लुक दिइएको छ। स्टोरेजको हिसाबले यसमा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १७८९ लिटरसम्म विस्तार गर्न सकिन्छ ।
यसको इन्टेरियरमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हिटेड र भेन्टिलेटेड सिट, ५० वाट वायरलेस चार्जर, हेड-अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लास रूफ लगायतका प्रिमियम फिचरहरू समावेश छन् ।
सुरक्षाको लागि, गाडीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल तथा रियर कोलिजन वार्निङ सुविधा पनि उपलब्ध गराइएको छ ।
एसयूभीले नेपाली बजारमा प्रिमियम ईभीको अनुभवमा नयाँ उचाइ ल्याउनेछ र दिगो मोबिलिटीतर्फको यात्रामा थप गति प्रदान गर्ने साइमेक्स इंकको विश्वास छ ।