काठमाडौं । रुसमा बिहीबार करिब ५० जना यात्रु बोकेको एउटा विमानसँग एयर ट्राफिक कन्ट्रोलको सम्पर्क टुटेको छ ।
समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार यो जानकारी उक्त क्षेत्रका गभर्नरले दिएका हुन् । उनले विमानको खोजी कार्य जारी रहेको पनि बताएका छन् ।
एजेन्सीका अनुसार स्थानीय आपतकालीन मन्त्रालयले जनाएको छ कि उक्त विमान चीनको सीमामा रहेको अमूर क्षेत्रको टिन्डा शहर नजिक पुग्दा राडारबाट हराएको हो।
क्षेत्रीय गभर्नर भासिली ओरलोभले प्रारम्भिक तथ्यांकका आधारमा विमानमा पाँचजना बालबालिकासहित ४३ जना यात्रु र चालक दलका ६ जना सदस्य सवार रहेको बताएका छन् ।
उनले टेलीग्राममा लेखेका छन्, ‘विमानको खोजीका लागि आवश्यक सबै बल र स्रोत परिचालन गरिएको छ ।’