काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेवाको आठौं वर्ष पूरा गरी नवौं वर्ष प्रवेशको अवसरमा देशभर विभिन्न शाखाहरूबाट सामाजिक उत्तरदायित्वअन्तर्गत दर्जनौं कार्यक्रम सम्पन्न गरेको छ ।
साउन १ गते स्थापना दिवसका अवसरमा सम्पदाले केन्द्रिय कार्यालय बन्दिपुर–१, डुम्रेमा रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले सभापतित्व गरेका थिए भने बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ प्रमुख अतिथि थिए । कार्यक्रममा ४० पोका रगत संकलन गरिएको थियो ।
त्यसैगरी, बरियारपुर शाखा (बारा) मा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ८० जनाको सहभागिता रहेको कार्यक्रममा ४१ पोका रगत संकलन भयो ।
बुधबारे शाखा (झापा) ले बौद्धशान्ति–१, इलामेली टोलका समूहलाई पञ्चेबाजा सहयोग हस्तान्तरण गरी संस्कृतिक संरक्षणमा योगदान पुर्यायो । लोहारपट्टी (महोत्तरी), सन्तपुर र राजपुर (रौतहट), बहुअरी (पर्सा) लगायतका शाखाहरूले स्थानीय मन्दिर, मस्जिद र प्रहरी चौकीहरूमा पंखा वितरण गरे ।
खोलाकोछेउ शाखा (कास्की) ले रुपा गाउँपालिका–६ स्थित घिमिरे गाउँमा सडक दुर्घटना सचेतना बोर्ड जिल्ला प्रहरी कार्यालयको समन्वयमा हस्तान्तरण गर्यो । ईमिलिया (कपिलवस्तु), चोरमारा (नवलपुर), घैरुङ (गोरखा) शाखाले ११० सदस्यलाई विभिन्न फलफूलका बिरुवा वितरण गरे ।
दुर्गौली (कैलाली) शाखाले स्वास्थ्य सामाग्री, समनपुर र नयाँमिल शाखाहरूले अनाथालयमा खाद्यान्न, मदनचोक (बाँके) ले विद्यालयमा झोला तथा शैक्षिक सामग्री, भैरहवा (रुपन्देही) ले एसईईमा उत्कृष्ट अंक ल्याएका सदस्यका छोराछोरीलाई सम्मान–पुरस्कार, र सेमजोङ (धादिङ) शाखाले प्रहरी कार्यालयमा पानी फिल्टर सामाग्री वितरण गरेका छन् ।
साथै, सम्पदाका १५५ वटै शाखा कार्यालयहरूले समाजसेवी, राजनीतिक प्रतिनिधि लगायतको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी शुभकामना आदान–प्रदान गरेका छन् ।
संस्थाका अनुसार, नवौं वर्षको प्रारम्भसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूलाई अझ सुदृढ रूपमा अघि बढाउने योजना समेत बनाइएको छ ।