काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमा तथा लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि व्यवसायिक लक्ष्य निर्धारण गर्दा पहिलो बीमाशुल्कसँगै नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्कलाई अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले जारी गरेको परिपत्रमा कम्पनीका मातहत कर्मचारी, शाखारउपशाखा, प्रादेशिक कार्यालय तथा विभागहरूको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा निर्धारण गरिने लक्ष्यमा यी तीनै प्रकारका बीमाशुल्क समावेश गर्न अनिवार्य गरिएको उल्लेख गरिएको छ ।
यो निर्देशन सावधिक वा एकल बीमाशुल्कमा मात्र केन्द्रित रहेर लक्ष्य निर्धारण गर्दा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यले जारी गरिएको हो । प्राधिकरणले धेरै कम्पनीहरूले ठूला बीमाशुल्क रकमको संकलनमा मात्र ध्यान दिने प्रवृत्ति बढ्दै जाँदा बीमा सेवा न्यून आय वर्गसम्म नपुगेको, बीमालेख समयमै समर्पण हुने वा व्यतित हुने समस्याहरू देखिएको जनाएको छ ।
गुणस्तरीय र भरपर्दो बीमा सेवा सुनिश्चित गर्न र बीमाको पहुँच सबै वर्गसम्म विस्तार गर्न यो नीति प्रभावकारी हुने अपेक्षा प्राधिकरणको छ ।