काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको इस्युअर रेटिङमा उल्लेखनीय स्तरोन्नति भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रयोजनका लागि गराइएको मूल्याङ्कनमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले यसअघि दिएको ‘आइआरएन ए' माइनस रेटिङलाई सुधार गर्दै ‘आइआरएन ए’ मा स्तरोन्नति गरेको हो ।
इन्फोमेरिक्सले असार २३ गते जारी गरेको पत्र अनुसार, यस्तो रेटिङ प्राप्त कम्पनीले वित्तीय दायित्व समयमा नै पूरा गर्ने पर्याप्त क्षमता राख्दछ । वित्तीय सूचकहरूमा आएको उल्लेखनीय प्रगति, विशेषतः आम्दानी, नेटवर्थ, मुनाफा लगायतका पक्षमा देखिएको मजबुतीका आधारमा रेटिङ सुधार गरिएको बताइएको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा कम्पनीको कुल बीमाशुल्क आम्दानी १५ प्रतिशत, खुद बीमाशुल्क आम्दानी १४ प्रतिशत, नेटवर्थ १४ प्रतिशत, सञ्चालन मुनाफा १३ प्रतिशत र करपछिको मुनाफा १८ प्रतिशतले बढेको छ । यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म प्रथम बीमाशुल्क आम्दानी २५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ पुर्याउने उद्देश्यसहित कम्पनीले १ः०.४२ अनुपातमा हकप्रद सेयर निष्कासन गरिरहेको छ । यसैबीच, कम्पनीको १७औं वार्षिक साधारण सभा २०८२ असार ३० गतेका लागि तय गरिएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र ५.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव राखिनेछ ।