ग्लोबल आइएमई समुन्नत योजना-२ को इकाई बिक्री खुला, २२४.९६ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आज असार २२ गतेदेखि सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को बिक्री खुला गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने समुन्नत योजना १० वर्ष अवधि रहेको बन्दमुखी योजना हो । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल १२ करोड इकाईमध्ये योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई १.५ प्रतिशत अर्थात १८ लाख इकाई र कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई छट्याइएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो ।

कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए साउन ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । 

यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलका अनुसार यस योजनाका इकाईधनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

Share News