काठमाडौं । हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा उक्त आईपीओ बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्रीका लागि जेठ ३० गतेदेखि आईपीओ खुला गरेको थियो । माग भन्दा बढी आवेदन असार १३ गतेमै प्राप्त भएपछि सो दिनमै निष्कासन बन्द गरिएको थियो ।
आयोजना प्रभावित क्षेत्रमा १ हजार २९ जना आवेदकबाट ३ लाख ९९ हजार ७४० कित्ता सेयरका लागि आवेदन परेका थिए । बाँडफाँड प्रक्रियामा १० देखि २३० कित्ता माग गर्ने ५५४ आवेदकलाई मागबमोजिम ७० हजार १०० कित्ता र २५० देखि ५१०० कित्ता माग गर्ने ४७५ आवेदकलाई प्रति आवेदक २४० कित्ता दरले १ लाख १४ हजार कित्ता सेयर वितरण गरिएको हो । बाँकी २,४०० कित्ता सेयरका लागि २५० कित्ता भन्दा बढी माग गर्ने ४७५ जनामध्ये २४० जनालाई गोलाप्रथा विधिबाट थप १० कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको ९३ हजार २५० कित्ता साधारण सेयर असार ३० देखि असार १३ गतेसम्म खुला गरिएको थियो । उक्त सेयरका लागि ७१ हजार २१७ आवेदकबाट १३ लाख ८१ हजार १४० कित्ता सेयरको आवेदन परेकोमा, विभिन्न कारणले १० हजार २५१ जनाका २ लाख ८३ हजार ९० कित्ता आवेदन रद्द भएको थियो ।
त्यसपछि बाँकी ६० हजार ९६६ जनाका १० लाख ९८ हजार ५० कित्ता सेयर आवेदनलाई गोलाप्रथा अनुसार बाँडफाँड गरिँदा ६० हजार ९३२ जनालाई प्रति आवेदक १० कित्ताका दरले ९ हजार ३२५ जनालाई ९३ हजार २५० कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।