काठमाडौं । अमेरिकाले युक्रेनलाई दिदै आएका केही हतियारहरूको आपूर्ति रोक्ने निर्णय गरेको छ ।
युक्रेन र रसियाबीच चलिरहेको भीषण युद्धको बीचमा यस्तो निर्णय भएको हो ।
ह्वाइट हाउसकी प्रवक्ता एना केलीले मंगलबार भनिन्, ‘यो निर्णय अमेरिकाका हितलाई सर्वोपरि राख्दै गरिएको हो ।’
अमेरिकी रक्षा विभागले ‘अन्य देशहरूलाई दिइने सैन्य सहायता तथा सहकार्यको समीक्षा’ गरेपछि यस्तो निर्णय लिइएको बताइएको छ ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका युक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता दिँदै आएको छ । तर यसका कारण ट्रम्प प्रशासनका केही अधिकारीहरूले अमेरिकी सैन्य भण्डार न्यून हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
युक्रेनले यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन । यद्यपि अमेरिकी अधिकारीहरूले कुन शिपमेन्ट रोकिने हो भन्ने खुलाएका छैनन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रोकिएका हतियारहरूमा वायु सुरक्षा मिसाइल र सटीक प्रहार गर्ने आधुनिक हतियारहरू पनि समावेश छन् ।
अमेरिकी रक्षा नीतिका उपसचिव एल्ब्रिज कोल्बीले भने, ‘रक्षा विभागले राष्ट्रपति समक्ष युक्रेनलाई सैन्य सहायता जारी राख्नका लागि सशक्त विकल्पहरू प्रस्तुत गरिरहनेछ ।’