काठमाडौं । लगातार साताको चौथो दिन बुधबार पनि सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २६९५ बिन्दुमा पुगेको हो ।
आज १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६२ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३१७ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, साहस उर्जाको ४९ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड, लक्ष्मी सनराइज बैंकको २९ करोड र बुटवल पावर कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबारमा सबै उपसमूहका सूचकमा हरियाली छाएको नेप्सेले जनाएको छ ।