ट्रम्पको प्रहारले टेस्लाको सेयर धराशायी,  मस्कको नेटवर्थ १२ अर्बले घट्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कबीचको तिक्तता बढ्दै गएको छ । मस्कले ‘वन बिग ब्यूटीफुल बिल’को आलोचना गरेका थिए । त्यसपछि ट्रम्पले मस्कमाथि तीव्र हमला गर्दै भने, ‘यदि सरकारले दिने अनुदान बन्द गर्यो भने मस्कले आफ्नो व्यवसाय बन्द गरेर दक्षिण अफ्रिका फर्किनुपर्ने हुन्छ । उनी न त स्याटेलाइट बनाउन सक्नेछन्, न त विद्युतीय सवारीसाधन (ईभी)।’

ट्रम्पको उक्त टिप्पणीपछि मंगलबार टेस्लाका सेयरमा भारी गिरावट आयो । यस गिरावटका कारण मस्कको नेटवर्थ १२.१ अर्ब अमेरिकी डलरले घट्यो ।

विश्वकै सबैभन्दा बहुमूल्य अटो कम्पनी टेस्लाको सेयर मंगलबार ५.३४ प्रतिशतले घट्यो । ब्लूमबर्ग बिलिनियर इन्डेक्स अनुसार मस्कको नेटवर्थ उक्त दिन १२.१ अर्ब डलरले घटेर हाल ३५१ अर्ब डलरमा पुगेको छ । यस वर्ष मात्रै मस्कको नेटवर्थमा ८१.९ अर्ब डलरको गिरावट आएको छ ।

केही महिना अघिसम्म ट्रम्पका नजिकका मानिने मस्क अहिले उनीविरुद्ध उत्रिएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, यदि ‘वन बिग ब्यूटीफुल बिल’  पारित भयो भने उनी आफ्नै राजनीतिक दल गठन गर्नेछन् ।

अन्य धनी व्यक्तिहरूको अवस्था

मंगलबार विश्वका शीर्ष १० धनीमध्ये ८ जनाको नेटवर्थ घट्यो । केवल अमेजनका संस्थापक जेफ बेजोस र फ्रान्सेली व्यवसायी बर्नार्ड अरनल्टले नाफा कमाए । अरनल्टको नेटवर्थ ७.१५ अर्ब डलरले बढ्यो भने बेजोसको १.१ अर्ब डलरले ।

मस्कपछि सबैभन्दा ठूलो घाटामा फेसबुक संस्थापक मार्क जुकरबर्ग परे । उनको नेटवर्थ ६.४४ अर्ब डलरले घटेर २५४ अर्ब डलरमा झर्यो । उनी अहिले विश्वका दोस्रो धनी व्यक्तिका रूपमा छन् ।

यसैबीच भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ भने २.२४ अर्ब डलरले वृद्धि भएको छ । 

अर्का भारतीय व्यवसायी र अदानी समूहका अध्यक्ष गौतम अदानीको नेटवर्थ १६।७ करोड डलरले बढ्यो ।

Share News