काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस अहिले निकै चर्चामा छन् । करिब ७३६.७ मिलियन अमेरिकी डलर बराबरका आफ्ना ३३ लाखभन्दा बढी सेयर बिक्री गरेपछि उनी चर्चामा आएका हुन् । मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार उनले यस बिक्रीमार्फत उक्त रकम उठाएका हुन् ।
बेजोस र उनकी प्रेमिका लरेन सान्चेजको इटालीको भेनिसमा भएको भव्य विवाहपश्चात सेयर बिक्री भएको हो । बिहेलगत्तै सेयर बेचेपछि उनी चर्चामा आएका हुन् ।
तीन दिनसम्म चलेको यो विवाह समारोहमा धेरै सेलिब्रिटीको उपस्थिति थियो र केही स्थानीयवासीले विरोध समेत जनाएका थिए । विवाह समारोहको लागत करिब ५० मिलियन डलर भएको अनुमान गरिएको छ ।
बेजोसले मार्चमा स्वीकृत गरेको पहिल्यैको एक योजनाअनुसार यो सेयर बिक्री गरिएको हो । उक्त योजनाअनुसार उनी सन् २०२६ मे २९ सम्ममा अमेजनका २५ मिलियन (२ करोड ५० लाख) सेयर बिक्री गर्ने तयारीमा छन् ।
सन् २०२१ मा अमेजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका बेजोस अहिले पनि कम्पनीका कार्यकारी अध्यक्षका रूपमा छन् । पछिल्ला केही वर्षदेखि उनले नियमित रूपमा अमेजनका सेयर बिक्री गर्दै आएका छन्, यद्यपि उनी अझै पनि कम्पनीका सबैभन्दा ठूला व्यक्तिगत सेयरधनी हुन् ।
सन् २०२४ को फेब्रुअरीमा पनि उनले यस्तै योजना अनुसार ५० मिलियन सेयर बिक्री गर्ने अनुमति लिएका थिए, जुन यो वर्षको जनवरी अन्त्यसम्म कायम थियो ।
बेजोसले यसअघि आफ्नो अन्तरिक्ष अन्वेषण कम्पनी ‘ब्लु ओरिजिन’ का लागि प्रत्येक वर्ष १ अर्ब डलर बराबरको अमेजन सेयर बिक्री गर्ने बताएका थिए । उनले आफ्ना ‘डे वान एकेडेमिज’ नामक गैरनाफामूलक संस्थालाई पनि सेयर दान गरेका छन्, जसले अमेरिकाका विभिन्न राज्यहरूमा मन्टेश्वरी शैलीमा आधारित प्री-स्कुलहरू निर्माण गरिरहेको छ ।
ब्लूमबर्ग बिलिनियर इन्डेक्स अनुसार बेजोस अहिले विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनको नेटवर्थ करिब २४० अर्ब डलर छ । सूचीमा टेस्लाका सीईओ एलन मस्क ३६३ अर्ब डलरसहित पहिलो र मेटाका सीईओ मार्क जुकरबर्ग २६० अर्ब डलरसहित दोस्रो स्थानमा छन् ।
सन् १९६४ मा जन्मिएका बेजोसले १९९४ मा अनलाइन पुस्तक बिक्री व्यवसायका रूपमा अमेजनको सुरुवात गरेका थिए । पछि यही अमेजन विश्वकै सबैभन्दा ठूलो ई-कमर्श र क्लाउड कम्प्युटिङ कम्पनी बन्यो ।
सन् १९९७ मा अमेजन सार्वजनिक कम्पनी बनेपछि बेजोसको सम्पत्ति तीव्ररूपमा बढ्न थालेको थियो ।
सान्दर्भिक सामग्री :
भारत-चीनले रुसी तेल किन्दा ५०० प्रतिशत ट्यारिफको चेतावनी
चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन
ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व
टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे
अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान