काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि जीवन बीमा कोषको बिमांकीय मूल्याङ्कनका आधारमा नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०८०/८१ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट असार १५ स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम गरिएको हो । यससँगै कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार २३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनस दर तोकेको छ ।
सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, ३० वर्षभन्दा माथि अवधिको प्रतिहजार ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
भाग्योदय जीवन बीमालेख र बाल समृद्ध जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकिएको छ ।
सावधिक सुनौलो जीवन बीमा र सुनौलो बाल समृद्धि जीवन बीमामा ० देखि १९ वर्ष अवधिका प्रतिहजार ३० रुपैयाँ र २० वर्षदेखि माथि अवधिको ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।
नवीन आजीवन जीवन बीमा योजना ० देखि १९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ६२ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको प्रतिहजार ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
यस्तै, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा सबै बीमा अवधिमा प्रतिहजार ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिको प्रतिहजार २५ रुपैयाँ, धनलक्ष्मी बीमा योजनामा ० देखि १९ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ, धनञ्जय जीवन बीमा योजना र नव धनलक्ष्मी जीवन बीमालेखमा ० देखि १४ वर्ष अवधिको प्रतिहजार २३ रुपैयाँ, २० वर्षदेखि माथि अवधिको प्रतिहजार २५ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।
कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।