११ महिनामा जीवन बीमकको व्यवसाय १ खर्ब ५४ अर्ब, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१ /८२ को ११ महिना अर्थात जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ५४ अर्ब रुपैयाँ भन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । 

नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले ११ महिनामा १ करोड ३८ लाख ३६ हजार ३७५ वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफले व्यवसाय संकलन गरेको छ । तथ्यांकअनुसार चालु आवको ११ महिनामा नेपाल लाइफ इन्स्यारेन्सले ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले ११ महिनामा १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँको व्यवसाय आर्जन गर्न सफल भएको छ । त्यस्तै हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

११ महिनाको अवधिमा अन्य बीमा कम्पनीहरूमा सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब, एशियन लाइफले ७ अर्ब ८६ करोड १२ लाख रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

त्यस्तै, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड २९ लाख रुपैयाँ, मेट लाइफले ५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ, आईएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

यस्तै, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

null
 

Share News