राष्ट्रिय जीवन बीमा कम्पनीको 'बालशिक्षा योजना' सार्वजनिक, बालबालिकाको शिक्षामा दीर्घकालीन सुरक्षा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बालबालिकाको शैक्षिक सुरक्षा सुनिश्चित गर्न 'बालशिक्षा योजना' सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा सम्पन्न एक विशेष कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै कम्पनीले यो नयाँ बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार 'बालशिक्षा योजना'ले अभिभावकको अनुपस्थितिमा समेत बालबालिकाको शैक्षिक यात्रा अविच्छिन्न बनाउने उद्देश्य राखेको छ । योजनाअन्तर्गत न्यूनतम बीमाङ्क २५ हजार र अधिकतम बीमाङ्क ५० हजार तोकिएको छ । बीमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्षसम्म रहनेछ ।

बीमितको अधिकतम प्रवेश उमेर १७ वर्षसम्म निर्धारण गरिएको छ । बीमा जोखिम बहन बीमालेख जारी भएपछिको दोस्रो वर्ष र बीमित ६ वर्ष पुगेपछि सुरु हुनेछ ।

बीमाशुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक किस्तामा तिर्न सकिनेछ।

वार्षिक किस्तामा २ प्रतिशत, अर्धवार्षिक किस्तामा १ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । त्रैमासिक र मासिकमा छुटको व्यवस्था छैन ।

बीमाङ्क ५ लाखभन्दा माथि भएमा बीमाशुल्क दरमा थप  २ रुपैयाँ छुटको व्यवस्था पनि गरिएको छ ।

योजनाअनुसार बीमित वा प्रस्तावकको मृत्यु भएमा विशेष अवस्थामा आधारित विभिन्न भुक्तानी व्यवस्था गरिएको छ ।

जोखिम बहन सुरु भइसकेपछि मृत्यु भएमा बोनससहित बीमाङ्कको २५ प्रतिशत वा बढी रकम भुक्तानी गरिने जनाइएको छ । प्रस्तावकको मृत्यु भएमा बीमालेखलाई निरन्तरता दिइने र बीमितलाई मासिक आयका रूपमा बीमाङ्कको १ प्रतिशत प्रदान गरिनेछ ।

तीन वर्ष बीमाशुल्क तिरेपछि बीमालेख समर्पण मूल्य योग्य हुने कम्पनीले जनाएको छ।

कम्पनीले कर्जामा निर्धारित ब्याज दर (१० प्रतिशत) लागू गर्ने घोषणा गरेको छ, जुन आगामी साउनबाट कार्यान्वयनमा ल्याइनेछ ।

यस योजनामा स्थायी पूर्ण असक्तताको अवस्थामा मासिक आम्दानी सुविधा, बीमाशुल्क मिनाहा लगायत सुविधा छन् ।

तर, आत्महत्या (बीमा प्रारम्भको २ वर्षभित्र), युद्ध, दंगा, नागरिक अशान्ति, वा अनुमतिबिहीन हवाई यात्रा जस्ता कारणबाट मृत्यु भएमा बीमा दावी नलाग्ने व्यवस्था गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीले नयाँ योजना कम्पनीको नवीकरणको संकेत भएको बताएका छन् । 

'अरूको खुट्टा तानेर अघि बढ्न सकिन्न, सबै प्रदेश र शाखाको सुझाव सुनेर हामी एकीकृत रुपमा अघि बढ्दैछौं,' उनले भने । 

पन्थीले कम्पनीको संस्थागत पुनर्जागरण, कर्मचारी-अभिकर्ता सम्बन्ध सुधार र नयाँ प्रडक्ट थप्ने रणनीति अपनाइने स्पष्ट पारे ।

उनले ‘ओपन कम्युनिकेसन’ र ‘सिक्ने–सिकाउने अभियान’ मार्फत बीमा क्षेत्रको विश्वसनीयता बढाउने संकल्प व्यक्त गरे ।

Share News