आईएमई लाइफ र मेडिसिटी अस्पतालबीच सहकार्य : बीमित, अभिकर्ता र कर्मचारीलाई १० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मेडिसिटी हस्पिटलबीचको सहकार्यपछि अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अस्पतालको सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । साथै, हेल्थ चेकअप प्याकेजमा पनि विशेष सहुलियत प्रदान गरिनेछ ।

छुट सुविधा प्राप्त गर्न बीमितले आईएमई लाइफको मोबाइल एपमा उपलब्ध 'प्रिभिलेज कार्ड' देखाउनुपर्नेछ । अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीद्वारा जारी आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा लिन सक्नेछन् ।

कम्पनीले उक्त सहकार्यलाई आफ्नो सेवाग्राहीप्रतिको प्रतिबद्धता तथा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएको बताएको छ । यो पहलले कम्पनी र अस्पतालबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउनुका साथै सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

Share News