मागभन्दा बढी आवेदन परेपनि ट्रेड टावरको आईपीओ खरिद गर्ने समय लम्बियो

काठमाडौं । ट्रेड टावरको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । जेठ १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरूले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओमा मागभन्दा बढी आवेदन परेपनि कम्पनीले आवेदन दिने समय लम्ब्याएको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म १७ लाख २० हजार ३४३ जना आवेदकले २ करोड ५ लाख ६८ हजार ८० कित्ताका लागि आवेदन दिएकाे सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।

कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।

अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । 

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share News