काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाखसम्म) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ९ करोड बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २३ लाख ५८ हजार ५११ वटा बीमालेख जारी गरेर ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
चालु आवको १० महिनामा निर्जीवन बीमकले गरेको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले २३ लाख ९३ हजार १८२७ वटा बीमालेख जारी गर्दै ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।
सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर इन्स्योरेन्स
चालु आवको १० महिनामा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्याेरेन्सले गरेको छ । वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा र ३.१० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
दोस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले वैशाखसम्ममा ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल व्यवसाय गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४.०२ प्रतिशतले बढेको छ ।
तेस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । सिद्धार्थ प्रिमियरले १० महिनामा कम्पनीले ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ९.१८ प्रतिशतले वृद्धि हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
अन्य बीमा कम्पनीहरूमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड रुपैयाँ सानिमा जीआइसीले २ अर्ब ९ करोड रुपैयाँ व्यवसाय आर्जन गरेका छन् ।
४ बीमकको घट्यो व्यापार
वैशाखसम्म ४ वटा बीमकको व्यवसाय घटेको छ । समीक्षा अवधिमा युनाइटेड अजोडको व्यवसाय ३.८४ प्रतिशतले घटेको छ । गत आवमा युनाइटेडले २ अर्ब १७ करोड ६१ लाख व्यवसाय गरेकोमा समीक्षा अवधिमा २ अर्ब ९ करोड २६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.१६ प्रतिशतले घटेको छ । गत आवको वैशाखसम्मममा एक अर्ब ३४ करोड रुपैयाँ व्यवसाय गरेको राष्ट्रिय बीमाले समीक्षा अवधिमा १ अर्ब १६ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ । प्रभु इन्स्योरेन्सको व्यवसाय ०.६५ प्रतिशतले घट्दा नेशनल इन्स्योरेन्सले १.४८ प्रतिशतले घटेको छ ।
प्रभु इन्स्योरेन्सले चालु आवको ११ महिनामा १ अर्ब ४३ करोड ४५ लाख व्यवसाय गरेको छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । नेशनल इन्स्योरेन्सले गत आवमा ९४ करोड ३९ लाख व्यवसाय गरेकोमा चालु आवमा ९२ करोड ९९ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
निर्जीवन बीमा कम्पनीको व्यवसाय (रु.लाखमा)
