काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्रमा बैंक सञ्चालन गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा आर्थिक क्षेत्रको प्रशासनिक भवनमा खाली रहेका स्थान भाडामा दिने भएको हो ।
प्राधिकरण अन्तर्गत भैरहवा व्यवस्थापन कार्यालयमा बैंक तथा बीमा र अन्य कार्यालय सञ्चालन गर्न दिइने जनाएको छ ।
बैंक सञ्चालन गर्नका लागि वाणिज्य बैंक हुनुपर्ने, एलसी खोल्ने व्यवस्था, एटीएम सञ्चालन गर्नुपर्ने, विदेशी मुद्रामा खाता खोली सञ्चालन गर्नुपर्ने तथा विदेशी मुद्रा सटहीको व्यवस्था हुनुपर्नेछ । यस्तै, नियमानुसार कर्जा प्रवाह गर्नुपर्ने, दैनिक कारोवार गर्नुपर्ने, खाता सञ्चालन गर्नुपर्नेछ भने पार्किङ उपलब्ध हुनेछ ।
यस्तै, बीमा कम्पनी सञ्चालन गर्न जीवन वा निर्जीवन बीमा गर्ने व्यवस्था हुनुपर्ने, अन्य कार्यालय सञ्चालन गर्दा विशेष आर्थिक क्षेत्रभित्र उद्योग संचालन भएको हुनुपर्नेछ ।
फर्निसिङ्ग, फर्निचर, पार्टेशन लगायतका कार्यालय व्यवस्थापन स्वंयमले गर्नुपर्नेछ । विद्युत, पानी, टेलिफोन, इन्टरनेट लगायतका सुविधाको लागि नियमानुसार शुल्क बुझाउनु पर्नेछ ।
सम्झौता अवधि बढीमा १० वर्षको हुने कार्यालयले जनाएको छ । प्रत्येक २/२ बर्षमा सुरु सम्झौता रकमको १० प्रतिशतका दरले भाडा रकम वृद्धि हुनेछ ।
न्यूनतम भाडा रकम मासिक १३६ रुपैयाँ प्रति वर्गमिटर तोकेको छ ।