अनुमति लिएर सञ्चालनमा आएनन् ५ उद्योग, भाडा तिर्न प्राधिकरणको ताकेता

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणले बक्यौता रकम चुक्ता गर्न विभिन्न ५ कम्पनीलाई निर्देशन दिएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको प्राधिकरणले सिमरा विशेष आर्थिक क्षेत्रमा उद्याेग सञ्चालनका लागि अनुमति लिएका ५ कम्पनीलाई बक्यौता तिर्न ताकेता गरेको हो ।

प्राधिकरण अन्तर्गत सिमरा विशेष आर्थिक क्षेत्रमा सेन्सी प्रालि, हिभेर्टज नेपाल, नर्थवेष्ट इण्डष्ट्रिज, आरएस इण्डष्ट्रिज, आरएस बायोटेक्नोलोजी र मा तारा एक्पोर्ट इम्पोर्टलाई उद्योग स्थापना तथा सञ्चालनार्थ अनुमतिपत्र प्रदान गरेको थियो । 

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा ११ बमोजिम तथा विशेष आर्थिक क्षेत्र नियमावली २०७४ को नियम ३२ अनुसार उद्योग स्थापना तथा सञ्चालनार्थ प्राधिकरणसँग सम्झौता गरी कानूनी व्यवस्था बमोजिम उद्योगी तथा लगानी कर्ताहरुले अनुमतिपत्र लिएको प्राधिकरणले जनाएको छ । 

तर, उद्योग सञ्चालनको कार्य अगाडि नबढाएको तथा भू-बहालको बक्यौता रकम चुक्ता गर्न पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । अबको १५ दिनभित्र हालसम्म तिर्नुपर्ने भू-बहाल रकम तिरी उद्योग सञ्चालन गर्न आवश्यक कार्य अगाडि बढाउन प्राधिकरणले ताकेता गरेको छ । 
 

Share News