कानुनअनुसार म्याचिङ प्रणाली लागू गर्न चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण

काठमाडौं । स्नातक तहको मेडिकल र प्यारा मेडिकलतर्फमा विद्यार्थी भर्नाको म्याचिङ प्रणाली नमिलेको पाइएको छ । महालेखा परीक्षाको ६२ औं प्रतिवेदनले म्याचिङ प्रणाली लागू गर्न चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गरेको छ । 

चिकित्सा शिक्षामा विद्यार्थी भर्ना राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ मा चिकित्सा शिक्षा आयोगले प्रत्येक वर्ष शिक्षण संस्थाको लागि सिट सङ्ख्या तोकी प्रवेश परीक्षाबाट छनोट भएका विद्यार्थीलाई म्याचिङ प्रणाली अनुरूप भर्ना गर्नुपर्ने व्यवस्था छ । 

तर यो वर्ष स्नातक तहतर्फ मेडिकल र प्यारा मेडिकलसमेत १५ कार्यक्रमको लागि निर्धारित ७ हजार ६ सय ६ सिटको लागि ५२ हजार ७ सय ८१ विद्यार्थी प्रवेश परीक्षामा सामेल भई २३ हजार २ सय ८६ (४४.१२ प्रतिशत) उत्तीर्ण भएका र सोमध्ये ६ हजार ३ सय ४२ (२७.२३ प्रतिशत) ले भर्ना पाएका छन् । 

त्यस्तै, स्नातकोत्तर तहतर्फ ११ कार्यक्रममा १ हजार ७ सय २४ सिटको लागि ९ हजार ६ सय २ विद्यार्थी प्रवेश परीक्षामा सामेल भई ४ हजार ४ सय ५२ उत्तीर्ण भएको र सोमध्ये १ हजार ४ सय ६७ (३२.९५ प्रतिशत) जनाले भर्ना पाएका छन् । 

प्रवेश परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या उल्लेख्य भए पनि आयोगले निर्धारण गरेको सिटमध्ये स्नातक तहमा १ हजार २ सय ६४ र स्नातकोत्तर तहमा २ सय ५७ सिटमा विद्यार्थी भर्ना भएका छैनन् । आयोगले विभिन्न कार्यक्रमको लागि निर्धारित सिटमा विद्यार्थी भर्ना न्यून हुनाको कारण पहिचान गरी यसमा सुधार गर्नुपर्ने देखाएको छ ।

Share News