काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूलाई विश्वसनीयता अभिवृद्धिका लागि गम्भीर रूपमा काम गर्न आग्रह गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा सेवाप्रति सर्वसाधारणको भरोसा कायम राख्नका लागि सेवा सुधार अपरिहार्य भएको बताए ।
'आजका दिनमा देखिएका कमी कमजोरी हटाउँदै जानुपर्ने आवश्यकता छ । सुधार निरन्तर प्रक्रिया हो, तर अहिलेको प्रमुख प्राथमिकता भनेकै बीमाको विश्वसनीयता हो,' अध्यक्ष ओझाले भने ।
उनका अनुसार बीमा प्राधिकरणमा उजुरीहरू बढ्दै गएका छन् । जुन चिन्ताको विषय हो । उनले दाबी भुक्तानीसँग सम्बन्धित गुनासोहरूको शीघ्र समाधान गर्न आग्रह गरे ।
बीमा क्षेत्रले ग्राहकको भरोसा जित्न नसकेको भन्ने धारणा बनाउन नदिनेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ। 'जीवन तथा निर्जीवन बीमासम्बन्धी गुनासोहरू घटाउँदै लैजाने र अन्ततः शून्यमा ल्याउने लक्ष्यसाथ काम गर्नुपर्छ,' उनले भने ।
अध्यक्ष ओझाले आगामी एक वर्षका लागि बीमा क्षेत्रको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनीयता कायम राख्ने हुने स्पष्ट पारे ।