ब्याज र प्राकृतिक विपतको असर निर्जीवन बीमामा, नाफा ५४.४५ प्रतिशत घट्यो, २ कम्पनी घाटामा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ५४.४५ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड १७ लाख रुपैयाँ घटेर २ अर्ब ४१ करोड ३ लाख ४६ हजार रुपैयाँ मात्रै आर्जन गरेका हुन् । जबकी गत वर्षको चैतमा यी कम्पनीहरूले ५ अर्ब २९ करोड २० लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । 

समीक्षा अवधिमा प्राकृतिक विपत्ति वाढी पहिरोको सामना देशले गर्नु परेको कारण बीमा कम्पनीमा आबद्ध वीमतिहरूलाई पनि असर परेका कारण बीमा कम्पनीहरूको नाफामा असर परेको उच्च व्यवस्थापकहरू बताउँछन् । वीमतिहरूको क्षतिलाई पूर्ति गर्नु नै कम्पनीको महत्वपूर्ण जिम्मेवारी भएकाले छिटो छरितो दाबी भुक्तानी गरिरहेको र कम्पनीहरूले अपेक्षाकृत मुनाफा हासिल गर्न नसकेको उनीहरूको भनाइ छ । 

समीक्षा अवधिमा सानिमा जिआईसी इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको मात्रै नाफा वृद्धि भएको छ । चैतसम्ममा सानिमा जिआईसीको नाफा १६.२१ प्रतिशत बढेर २३ करोड ३५ लाख ५७ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत वर्षको चतैमा सानिमा जिआईसीले २० करोड ९ लाख ७७ हजार रुपैयाँ र शिखरले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ नाफा गरेका थिए । 

यस अवधिमा अधिकांश कम्पनीको नाफा घटेको छ भने नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्स ऋणात्मक बनेका छन् । देशको विद्यमान अवस्थामा अपेक्षाकृत लगानीको वातावरण बन्न नसक्नु र आर्थिक विकास बिना बीमा बजारको पनि विकास हुन नसक्ने भएकाले त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरूमा परेको बीमा कम्पनीका उच्च व्यवस्थापकहरू बताउँछन् ।

उनीहरूका अनुसार बीमा बजारमा बढ्दो प्रतिस्पर्धा, बढ्दो मुद्रास्फितिको कारण संचालन खर्चमा वृद्धि, बीमा सम्बन्धी जनचेतनाको कमी र अस्थिर आर्थिक तथा राजनीतिक वातावरणका कारण व्यवसायमा असर परेको छ । साथै, बैंक तथा वित्तीय क्षेत्रको ब्याजदर घट्दा पनि कम्पनीहरूको नाफामा असर गरेको उनीहरूको तर्क छ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा घटेको छ । यूनाइटेड अजोडको ५७.६५ प्रतिशत घटेर ११ करोड ६१ लाख २२ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । गत वर्षको चैतमा कम्पनीले २७ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रभु इन्स्योरेन्सको ४८.४३ प्रतिशत घटेर २० करोड २ लाख ८८ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४५.२० प्रतिशत घटेर ३३ करोड २३ लाख ७९ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को ४७ प्रतिशत घटेर २५१९४९ हजार रुपैयाँ खुद नाफा गरेका छन् ।

यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ४३.३० प्रतिशत घटेर २६ करोड ५१ लाख १ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३९.४३ प्रतिशत घटेर १७ करोड ८४ लाख ५० हजार रुपैयाँ, शिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २४.०३ प्रतिशत घटेर ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ मात्रै नाफा गरेका छन् । 

सार्वजनिक वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको २३.३७ प्रतिशत घटेर ३९ करोड ५६ लाख ६३ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ९.७७ प्रतिशत घटेर १२ करोड ३३ लाख ४२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सको २.१६ प्रतिशत घटेर ३६ करोड ९३ लाख २८ हजार रुपैयाँ नाफा गरेका छन् । 

समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्सले नोक्सानी बेहोरेका छन् । नेशनल इन्स्योरेन्सको खुद नोक्सानी ७२ करोड ८१ लाख ५१ हजार रुपैयाँ छ । गत वर्षको चैतमा यस कम्पनीले १४ करोड १० लाख ३३ हजार रुपैयाँ नाफा गरेको थियो । 

यस्तै, ओरियण्टलले १३ करोड ८३ लाख ४० हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । जबकी गत वर्षको चैतमा यस कम्पनीले ४६ करोड १७ लाख ३१ हजार रुपैयाँ नाफा गरेको थियो । null
 

Share News