काठमाडौं । जीवन बीमा कम्पनीहरूले ९ महिनामा पौने ५ अर्ब रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३६ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको नाफा ११.९३ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नेपाल लाइफले चैत मसान्तसममा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा गरेको हो । जुन जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा धेरै हो । गत वर्षको चैतमा यस कम्पनीले ६० करोड ३ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो ।
तर, यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि भने एशियन लाइफले गरेको छ । एशियन लाइफको ५९.५० प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा यस कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो ।
रिलायबल नेपाल लाइफको ३६.८७ प्रतिशत बढेर ४६ करोड ५७ लाख ६९ हजार रुपैयाँ, सूर्यज्योति लाइफको ३१.८९ प्रतिशत बढेर २९ करोड ५७ लाख ५० हजार रुपैयाँ, अमेरिकन मेट लाइफको २७.६० प्रतिशत बढेर ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यस्तै, सिटिजन लाइफको २७.१३ प्रतिशत बढेर ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) को २२.६५ प्रतिशत बढेर २३ करोड ६० लाख २२ हजार रुपैयाँ, सानिमा रिलायन्सको १०.७६ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
यस्तै, आइएमई लाइफको १०.४८ प्रतिशत बढेर ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ, हिमालयन लाइफको ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ, नेशनल लाइफको ५.१८ प्रतिशत बढेर ४० करोड ८५ लाख २२ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ नाफा गरेका छन् ।
तर, समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ३७.१० प्रतिशत घटेर १ करोड ५४ लाख १९ हजार रुपैयाँ र सन नेपाल लाइफको ३३.३५ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ मात्रै नाफा गरेका हुन् । 