सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, १५० भन्दा बढीको सहभागिता


काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमा लेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा शनिबार अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सर्भेयर संघले संघ मात्रै नभएर अबका दिनमा तालिम केन्द्र पनि सञ्चालन गरी आवश्यक तालिम सञ्चालन गर्न अनुरोध गरे । तालिम केन्द्र सञ्चालनमा संघलाई प्राधिकरणको साथ र सहयोग रहने उनले प्रतिवद्धता जनाए । 

एक दिने अन्तरक्रिया कार्यक्रममा चार वटा स्टेक होल्डरसँग छलफल भएको र कार्यक्रम निकै नै सकारात्मक भएको च्याप्टर प्रमुख लामिछानेले बताए । उनका अनुसार कार्यक्रमको पहिलो सेसनमा ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिएका थिए ।

त्यस्तै बीमा विज्ञ डा. रविन्द्र घिमिरेले वर्तमान बीमाको सिनारियोबारेमा प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तति दिएका थिए  भने प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सम्पति बीमालेखसम्बन्धी प्रस्तुति दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुवेदी, बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रदेश प्रमुख जमुना अर्याल, सर्भेयर, बैंक, बीमाका कर्मचारीलगायत १५० भन्दा बढीको सहभागिता रहेको थियो । 

Share News