निर्जीवन बीमकले मोटर बीमा व्यवसायबाट कमाए ९ अर्ब ८२ करोड, कुन क्षेत्रबाट कति आर्जन ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको (साउन-चैत्र) सम्ममा ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमध्ये कम्पनीहरूले आर्जन गरेको कुल बीमा शुल्क संकलनमै मोटर बीमाको हिस्सा सबैभन्दा धेरै देखिएको छ ।

नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार निर्जीवन बीमकले मोटर बीमाबाट ९ अर्ब ८२ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीहरूले आर्जन गरेको यो व्यवसाय कुल बीमा शुल्कको २९.९५ प्रतिशत बजार हिस्सा हो ।

कम्पनीहरूले दोस्रो धेरै व्यवसाय सम्पति बीमाबाट गरेका छन् । चालु आवको ९ महिनामा निर्जीवन बीमकले सम्पति बीमाबाट ८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ कमाएका छन् । कम्पनीहरूको कुल व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २४.९९ प्रतिशत रहेको छ ।

त्यस्तै, कम्पनीहरूले तेस्रो धेरै व्यवसाय इन्जिनियरिङ तथा ठेक्का निर्माणबाट आर्जन गरेका छन् । कम्पनीहरूले चालु आवको ९ महिनाका कुल व्यवसायको १६.९४ प्रतिशत बजार हिस्सा ओगटेको छ । यस अवधिमा कम्पनीहरूले उक्त क्षेत्रबाट ५ अर्ब ५६ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

९ महिनाको अवधिमा कम्पनीहरूले  विविध सेक्टरबाट ३ अर्ब ५७ करोड, सामुद्रिक बीमाबाट १ अर्ब ८९ करोड, हवाई बीमाबाट १ अर्ब ८१ करोड बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, कृषि बीमाबाट १ अर्ब २३ करोड र सबैभन्दा कम लघु बीमाबाट ६९ करोड ९७ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । 

null

Share News