काठमाडौं । पछिल्लो समय लघु निर्जीवन बीमक कम्पनीले आक्रामक ढंगले आफ्नो व्यवसाय बढाइरहेका छन् । हाल सञ्चालनमा रहेका चार निर्जीवन लघु बीमकले आफ्नो व्यापारलाई आक्रामक ढंगले विस्तार गरिरहेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा लघु निर्जीवन बीमक कम्पनीको व्यवसाय गत आवको यही अवधिको तुलनामा ३४२ प्रतिशतले बढेको छ ।
नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार निर्जीवन लघु बीमकले चालु आवको चैत्र मसान्तसम्ममा २ लाख ७७ हजार ९८ वटा बीमा लेख जारी गर्दा ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १५ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।
कम्पनीहरूले चैत्र महिनामा मात्रै ४७ हजार ९१ बीमा लेख जारी गरी १० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
चार निर्जीवन लघु बीमकमध्ये नेपाल माइक्रो इन्स्यारेन्सले चैत्र मसान्तसम्ममा ७७ हजार ३५१ बीमालेख जारी गरी १९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले आर्जन गरेको व्यवसाय गत आवको यही अवधिको तुलनामा १९२.३३ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीहरूले ६ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
धेरै बीमा शुल्क संकलन गर्ने दोस्रो नम्बरमा प्रोटेक्टिभ माइक्रो इन्स्याेरेन्सको रहेको छ । उक्त कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १७ करोड ५७ लाख रुपैयाँ व्यवसाय गरेको छ । जुन गत आवको तुलनामा २५२.५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरूले ४ करोड ९८ लाख रुपैयाँको व्यवसाय गरेका थिए।
त्यस्तै, चालु आवको ९ महिनामा स्टार माइक्रोले १६ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको यही अवधिमा स्टार माइक्रोले ३ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । चार नीर्जीवन बीमक लघु बीमक कम्पनीमध्ये सबैभन्दा कम व्यवसाय गर्ने कम्पनी ट्रस्ट माइक्रो रहेको छ ।
व्यापार वृद्धिको हिसाबले भने ट्रस्ट माइक्रो पहिलो सबैभन्दा अगाडि रहेको छ । उक्त कम्पनीले चालु आवको चैत्रसम्ममा ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको यही अवधिको तुलनामा २३२४ प्रतिशतले वृद्धि हो । गत आवमा कम्पनीको कुल बीमा शुल्क संकलन ६३ लाख रुपैयाँ थियो ।
