स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डले गर्‍यो विभिन्न योजना सार्वजनिक

काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय गरेको छ । 

अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै त्यस्तो नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पचात्रार गरेको छ । 

आधारभूत स्वास्थ्य उपचारका लागि दिने रकमका लागि समेत स्वास्थ्य बीमा कार्यक्रममा मागदाबी परेको भन्दै बोर्डले दोहोरोपना हटाउन सकिए दायित्व कम पर्ने निष्कर्षका साथ यसमा सघाउन मन्त्रालयमा अनुरोध गरेको बोर्डले जनाएको छ ।  

बोर्डको अनुरोधपश्चात् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य उपचारको मापदण्ड पूर्ण कार्यान्वयन गर्न र दोहोरोपना हटाउनका लागि सुझाव कार्यदल गठन गरिसकेका छन् ।  

बोर्डले नयाँ आम्दानीका स्रोतस्वरुप नेपालमा औषधि बिक्रीवितरण गर्ने सबै कम्पनीको खर्चको निश्चित प्रतिशत स्वास्थ्य बीमा कोषमा खर्च गर्न सकिने प्रस्ताव गरेको छ । 

यसका लागि पनि स्वास्थ्य मन्त्रालयलाई सहयोगका लागि बोर्डले पत्राचार गरेको कार्यकारी निर्देशक डा रघुराज काफ्लेले जानकारी दिए ।

यसैगरी, बोर्डले आम्दानी बढाउने उपायस्वरुप स्वास्थ्य बीमा चिठ्ठा कार्यक्रम सञ्चालनका लागि सरकारसँग अनुमति मागेको छ ।  स्वास्थ्यमन्त्री पौडेलले यसअघि सबै सङ्घीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत सोझै बीमा कोषमा जम्मा गर्ने निर्णयसमेत गरिसकेका छन् ।
 

Share News