
काठमाडौं । बीमाविज्ञ रविन्द्र घिमिरेले बीमितको आर्थिक हैसियत हेरेर मात्रै कम्पनीहरूले बीमा गराउनुपर्ने बताएका छन् ।
आइतबार एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
बीमितले पनि कसैले भनेको आधारमा बीमा गर्नुभन्दा पनि राम्रोसँग कुरा बुझेर आफूले कति सम्मको बीमा गर्न सकिन्छ, त्यसको आधारमा बीमा गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
बीमा विज्ञ घिमिरेले आर्थिक हैसियत नहेरी बीमा गर्दा कम्पनी र बीमित दुबैलाई समस्या पर्ने यसले कसैलाई फाइदा नगर्ने अभिव्यक्ति दिए ।
घिमिरेले बीमा क्षेत्र भर्खर सिक्ने चरणमै रहेको हुँदा सिक्नुपर्ने कुरा धेरै रहेको औंल्याए । उनले भने, ‘बीमा क्षेत्रमा हामी सिक्ने चरणमै छौं, यो क्षेत्रका साथीहरू अध्ययन गर्न र केही सिक्नमा इच्छुक हुनुहुन्छ । सिक्दैछौं, सिकेपछि त्यसलाई व्यवहारमा उतार्न बाँकी छ ।’
सिक्ने सिकाउने क्रम कहिल्यै नसक्ने उल्लेख गर्दै बीमा विज्ञ घिमिरेले फिल्डदेखि केन्द्रीय नेतृत्व तहसम्मकाले सिक्नैपर्ने बताए ।
‘मलाई बीमा पढ्दा सबै कुरा जानेजस्तो लाग्थ्यो । विस्तारै बुझ्दै जाँदा केही जाने रहेनछु भन्ने थाहा भयो । टेक्निकल विषय हो, निरन्तर सिकाइको प्रक्रियामा नगइन हामीले बीमा क्षेत्रको विकास गर्न सक्दैनौं,’ उनले भने ।
नेपाल बीमा प्राधिकरणले बीमाको क्षेत्रमा काम गर्दै आइरहेको भएपनि प्रभावकारी काम अझै हुन नसकेको औंल्याउँदै उनले त्यसतर्फ ध्यान पुग्नेपर्ने बताए ।
त्यस्तै, बीमाविज्ञ घिमिरेले बीमा क्षेत्रको सुधारको लागि प्राधिकरणले दक्ष जनशक्ति उत्पादनको लागि गम्भिर रुपमा सोच्नुपर्ने औंल्याए । त्यसबाहेक असल शुसान, समयअनुसार प्रविधिको प्रयोग र अभ्यास यो क्षेत्रले गर्दै जानुपर्ने उनले बताए ।
उनले भने, ‘असल शुसासन कायम आवश्यक छ । संसारभरिका जति पनि कम्पनीहरू कोल्याप्स भएका छन्, असल सुशासन नभएर नै हो । हरेकले आफ्नो क्षेत्रबाट राम्रै गरिरेको छु भन्ने ठाने पनि त्यहाँ सुधार्नुपर्ने धेरै कुरा हुन्छ । असल सुशासन र रेगुलेशनमा बीमा प्राधिकरणले काम गर्नुपर्छ ।’