काठमाडौं । आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ ।
डा. बुढाथोकी भन्छन्, ‘दाँत तथा मुख शरीरको प्रवेशद्वार हो । मुख स्वास्थ भएन भने त्यसबाट खाइएका चिजहरु शरीरमा फोहोरकै रुपमा जाने हुन्छन् । मुख शरीरको ऐना पनि हो । मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुखसम्बन्धी कारणहरु हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरुको प्रतिबिम्बको रुपमा देखिने गर्दछ ।’
मुख स्वास्थ राख्न प्रत्येक दिन कमसेकम दुई पटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एक पटक डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सूर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसम अनुसारको फलफूल तथा सागसब्जी खाने, मुखमा कुनै समस्या देखिएमा आफै जथाभावी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६-६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ ।
‘बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ । यसलाई नियमित जीवनशैलीको रुपमै अपनाउनुपर्छ’, डा बुढाथोकीले भने ।