बीमा कम्पनीहरूले चीन र भारतमा बीमा प्रोडक्ट निर्यात गर्न सक्नुपर्छ

<p>देवराज घिमिरे राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक हुन् । विसं २०६७ सालदेखि तत्कालीन राष्ट्रिय बीमा संस्थान र विसं २०७१ सालदेखि सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीमा प्रशासन, अण्डरराइटिङ, दाबी विभागमा सफलतापूर्वक काम गरेका उनी हाल बजार व्यवस्थापन विभागमा कार्यरत छन् । कम्पनीका युवा व्यवस्थापक घिमिरेसँग बीमा क्षेत्रका विभिन्न अवयवहरूमा विषयमा गरिएको कुराकानीको सम्पादित अंशः राष्ट्रिय बीमा [&hellip;]</p>

देवराज घिमिरे राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक हुन् । विसं २०६७ सालदेखि तत्कालीन राष्ट्रिय बीमा संस्थान र विसं २०७१ सालदेखि सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीमा प्रशासन, अण्डरराइटिङ, दाबी विभागमा सफलतापूर्वक काम गरेका उनी हाल बजार व्यवस्थापन विभागमा कार्यरत छन् । कम्पनीका युवा व्यवस्थापक घिमिरेसँग बीमा क्षेत्रका विभिन्न अवयवहरूमा विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

राष्ट्रिय बीमा कम्पनीको बजारीकरण रणनीति के कस्ता रहेका छन् ?

नेपालको सरकारी प्रयासबाट विसं २०२४ साल फागुन ११ गतेदेखि बीमा व्यवसाय शुरु गर्ने ऐतिहासिक बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । विभिन्न आरोहअवरोह पार गर्दे ५८ वर्षसम्म सफलताका साथ बीमा व्यवसायबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दे आएको जेठो सरकारी कम्पनी भएकोले नेपाली बजारमा यसको ख्याति अत्याधिक रहेको छ । साथै ग्राहकहरूको विश्वसनीय कम्पनीका रुपमा उदाएको यस कम्पनीले काठमाडौंदेखि बझाङसम्म आफ्नो सेवा विस्तार गर्दे बीमाको सेवा पुर्याउन सफल रहेको छ । हाल केन्द्रीय कार्यालयदेखि शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी देशका ३४ स्थानबाट २ सय जनाभन्दा बढी कर्मचारीहरूद्वारा बीमा सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रिय बीमा कम्पनी नेपाली बजारमा स्थापित कम्पनी भएको कारण यसका प्रोडक्टहरू, यसका रणनीतिका विषयमा आमजन समुदाय सुसूचित नै हुनुहुन्छ । तथापि आगामी दिनमा यस कम्पनीले अझ परिस्कृत रुपमा आफ्नो बजारिकरण रणनीतिहरू अवलम्बन गरि ग्राहकलाई छिटो, छरितो, सहजरूपमा सेवा प्रदान गर्न दत्तचित्तका साथ अगाडि बढ्ने प्रयासहरू जारी राखेको छ । राष्ट्रिय बीमा कम्पनीको बजारीकरण रणनीति पनि ग्राहक केन्द्रित रहेका छन् । ग्राहकको समस्या, जिज्ञासा, उत्सुकतालाई केन्द्रबिन्दुमा राखेर झण्झटरहित छिटोछरितो सेवा प्रदान गर्दै ग्राहकको मन जितेर बढी भन्दा बढी ग्राहक आकर्षित गराउने रणनीति कम्पनीको रहेको छ । ग्राहक भगवानसरह नै हुन भन्ने मान्यता राख्ने यस कम्पनीले ग्राहक पहिला भन्दै ग्राहकलाई छिटो, छरितो, सहज, किफायती सेवा प्रदान गर्दै ग्राहकको मन जितेर बढीभन्दा बढी बीमा व्यवसाय गर्दे कम्पनीको व्यवसाय विस्तार गर्ने, नाफा कमाउने र यसका स्टेकहोल्डरलाई बढीभन्दा बढी लाभांश प्रदान गर्दै बजारमा अब्बल कम्पनीमा दर्ज हुने नीति लिएको छ ।

अहिलेको डिजिटल युगमा कम्पनीले पनि उच्चस्तरीय नवीनतम प्रविधि कम्पनीमा भित्र्याउँदै प्रविधिमैत्री आधुनिक सफ्टवेयरबाट छिटो, छरितो र सहज सेवा ग्राहकवर्गलाई प्रदान गर्ने नीति लिएको छ । बजारीकरण रणनीति अन्तर्गत सम्भावित ग्राहक पहिचान गर्ने, उहाँहरूलाई बीमा सम्वन्धि सचेतना प्रदान गर्ने र बीमाका फाइदाहरू जानकारी ग्राहक बनाउने र ग्राहक बनाइसकेपछि बिक्रीपछि दिइने सेवाहरु जस्तै नविकरण गर्न समयमै सुचित गर्ने, दावी पर्दा सहयोग गर्ने, बीमाका समय समय परिवर्तन हुने नीतिनियमका विषयमा आफ्ना ग्राहकहरूलाई समयमा नै सुसुचित गर्ने र यी सम्पूर्ण कार्य गर्न डिजिटलाईजेसन प्रविधिको प्रयोग गरिनेछ । प्रतिस्पर्धी कम्पनीको रणनीतिहरुलाई सुुक्ष्म अध्ययन गर्ने, अनुसन्धान गर्ने र गुणस्तरिय सेवा प्रदान गर्ने रणनीति कम्पनीको रहेको छ ।

ग्राहकको चाहना बमोजिमका प्रोडक्टहरु पहिचान, अनुसन्धान र नयाँं प्रोडक्ट बजारमा भित्राउने लक्ष्य कम्पनीको रहेको छ । विभिन्न प्रवद्र्धनका उपायहरु अवलम्वन गर्दै ग्राहकलाई बीमाका विषयमा सचेतना प्रदान गर्दै दुरदराजका जनमानसमा बीमाको सेवा प्रदान गर्ने नीति कम्पनीले लिएको छ । अभिकर्ता बीमा कम्पनीको मेरुदण्ड भएका कारण कम्पनीले डोटी, बझाड., हुम्ला, जूम्ला, कालिकोट, डोल्पा र सुगमठाउँका सक्षम अभिकर्ताहरुलाई तालिम प्रदान गर्दै २ सयजना भन्दा बढी अभिकर्ताहरुबाट जनतालाई सचेतना दिई कम्पनीको प्रोडक्ट विक्री गर्दै आएको र अझ बढी स्थानहरुमा अभिकर्ता तालिम संचालन गर्दै बढी भन्दा बढी स्थानमा कम्पनीको उपस्थिती जनाउने नीति लिएको छ ।

कम्पनीका हाल भएका अभिकर्ताहरुलाई पनि सुुधारिएको बीमा नीति–नियम,निर्देशन, ऐन, नियमावली, प्रोडक्टहरुका विषयमा समय समयमा पुर्नताजगी तालिम आयोजना गरि अभिकर्ताहरुको निर्णय क्षमता अभिवृद्धी गर्ने नीति कम्पनीले लिएको छ । यसका अलावा कम्पनीले डिजिटल भुक्तानी सेवामार्फत ग्राहकलाई बीमा गर्ने, दावी भुक्तानी गर्ने जस्ता सेवा प्रस्तुत गर्ने नीति पनि लिएकाले अबका दिनमा ग्राहकहरुले घरबाट नै बीमाका सवै सेवा सुविधा पाउने व्यवस्था कम्पनीले गर्ने नीति लिएको छ । यसरी कम्पनीले नविनतम प्रविधीकासाथ आक्रामक बजारीकरण गर्ने रणनीति तय गरेको छ ।

कम्पनीले आफ्नो प्रोडक्ट बिक्री गर्नका लागि मार्केटिङमा के कस्ता कार्य गर्दै आएको छ ?

अहिलेको यूग सूचना तथा सञ्चार प्रविधिको यूग हो । विश्वका सम्पूर्ण राष्ट्रहरुले प्रविधीको प्रयोगबाट सहजताका साथ विकास निर्माणका कार्य गर्दै आएका छन् । विकसित राष्ट्रहरुको त सूचना तथा सञ्चार रक्तसंचार जस्तै रहेको छ । सूचना तथा सञ्चार प्रविधिका कारण विश्वनै ग्लोवल भिलेजका रुपमा रहेकोले संसारका हरेक कुनामा भएका परिवर्तन, विकास, अनुसन्धान, आविष्कारहरू मात्र एक क्लिकमा थाहा पाउनुका साथै देशविदेशमा रहेकाहरूले सजिलै कुराकानी, साक्षात्कार हुने भएकाले विछोडिएको जस्तै अनुभवनै नहुने सूचना तथा सञ्चारको विकासले नै सम्भव भएको हो ।

त्यसैले सबै क्षेत्रमा यसको प्रयोगबाट निश्चित उपलव्धिहरु हासिल भईरहेकोले मार्केटिङमा पनि यसको महत्व अझ बढी रहेको छ । विश्व बजारमा भएका वस्तु विकासहरु हामीहरुले सञ्चारको माध्यमबाट नै थाहा पाउछौ र त्यो वस्तु उत्पादन देखी वजारमा स्थापित गर्नलाई, विभिन्न वितरणका माध्यमहरुबाट उपभोक्तामाझ वस्तु पुर्याउन र ग्राहकहरुबाट त्यो वस्तुका बारेमा प्रतिक्रिया प्राप्त गर्न सूचना तथा सञ्चारको नै अधिकतम प्रयोग हुने हुनाले बजारीकरणमा सञ्चारको महत्व अत्यधिक रहेको छ । बजारमा ग्राहकको चाहना,आवश्यकता के छ भनेर अध्ययन ,अनुसन्धान गर्न सूचना तथा सञ्चारकै माध्यम प्रयोग गरिने र बस्तु्को प्रवद्र्धन ,विज्ञापन पनि यसै माध्यमवाट मात्र सम्भव हुने हुनाले मार्केटिङमा सञ्चारको महत्व अधिक रहेको छ । तपाइको कम्पनी को नाम के हो ? कम्पनीले कस्तो व्यावसायिक कार्य गर्छ,यसको पंूजी कति छ,कम्पनीका राम्रा पक्षहरु के के हुन, कस्ता कस्ता प्रोडक्टहरु छन्, कर्मचारीहरु कति सक्षम,कतिजना कर्मचारी कार्यरत छन् ,कम्पनी कहां अवस्थित छ ।

नेपाली उखान अनुसार ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भने झै जुन कम्पनीले सूचना तथा सञ्चारका माध्यमबाट धेरै भन्दा धेरै विज्ञापन गरेका छन त्यही कम्पनीको व्यवसाय राम्रो भइरहेका छन् । आफ्ना प्रोडक्टहरु बढी भन्दा बढी व्यापार गर्न सफल भएका छन् । बीमा कम्पनीहरुले त झन बीमालेखरुपी कागजको व्यवसाय गर्ने हुनाले सूचना तथा सञ्चारको सहयोगमा आफ्ना प्रोडक्टहरु जनमानसमा परिचित गराउने, सम्भावित ग्राहक पहिचान गर्ने, जनमानसमा बीमा सम्वन्धि ज्ञान, चेतना फैलाउने, ग्राहक बनाउने, बीमालेखका सफ्टकपीहरु वाट्सअप, भाइवर, मेसेन्जर, इमेलका माध्यमवाट ग्राहकहरु समक्ष पुर्याउने, दावी भुक्तानी डजिटल प्रविधिबाट गर्नेछ ।

तपाई वित्तीय क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?

वित्तिय क्षेत्र सम्मानित र प्रतिष्ठित क्षेत्र जस्तो लाग्थ्यो र भविष्यमा जागिर खानु परेमा यही क्षेत्रलाई नै रोज्ने मनमनै लक्ष्य लिएको थिए । जव म त्रिभुवन विश्वविधालयबाट स्नातकोत्तर उपाधि प्रथम श्रेणीमा उतिर्ण भए त्यसपछी मलाई मैले लिएको ज्ञान, शिक्षाको सही सदुपयोग गर्नुपर्छ भन्ने लाग्यो । साथै सरकारी वित्तीय क्षेत्र मेरो पहिलो रोजाईमा थियो । म कृषी विकास बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंकमा सफल हुन सकेन । तैपनि सरकारी निकायमा जागिर खाने मेरो अठोट निरन्तर रही रह्यो । त्यसपछि विद्युत प्राधिकरणमा पनि असफल भए । विसं. २०६७ सालमा उत्तम थापाले राष्ट्रिय बीमा कम्पनीमा आवेदन दिन सुझाव दिएपछि परिक्षामा सामेल भए र म सफल पनि भए ।

कम्पनीमा करिव २० वर्षपछि पदपूर्तीको लागी विज्ञापन भएको रहेछ र करिव ३ सय जनाले परिक्षा दिएकामा १९ जना सफल भई बीमा क्षेत्रमार्फत नेपाली जनतालाई सेवा प्रदान गर्न पाउँदा खुशी भए । संस्थानमा मेरो अनुभव र विभिन्न तालिमका आधारमा मलाई शुरुमा नै प्रशासन विभागमा पदस्थापना गरियो । मैले आफ्नो अनुभव र योग्यताका अनुसार इमान्दारीता र निष्ठापूर्वक दिएको जिम्मेवारीलाई अगाडि बढाउदैं आएको छु । व्यावसायीक विभागमा काम सिक्नु पर्छ भन्ने हिसाबले मलाई अण्डरराइटिङ विभागमा पदस्थापन गरियो । मैले जिम्मेवारीलाई उत्साहसाथ निभाउदै जाँदा त्यहाँ मैलै बीमा सम्वन्धि धेरै ज्ञान अनुभव प्राप्त गर्न सफल भए । अण्डरराइटिङ्ग विभागमा धेरै काम हुन्थ्यो तर मैले मनोरञ्जन मानेर काम गरे । यहीबीचमा तत्कालीन राष्ट्रिय बीमा संस्थानले तत्कालीन बीमा समितिको ऐन बमोजिम जीवन र निर्जीवन बीमा व्यवसाय एउटै संस्थाले गर्न नपाउने भई २०७१ जेठमा निर्जीवन व्यवसाय गर्ने कम्पनी छुट्याउने नेपाल सरकारको निर्णय अनुसार २०७१ जेठमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको स्थापना भयो । मैले पनि प्रोडक्टहरु धेरै र काम पनि चुनौतिपूर्ण भएकोले राष्ट्रिय बीमा कम्पनी लिमिटेड नै रोजे । अण्डरराइटिङ, दावी हुँदै हाल बजार व्यवस्थापन विभाग विभागिय प्रमुखका रुपमा कार्यरत छु ।

तपाईको अनुभवमा नेपालको मार्केटिङ रणनीतिको क्षेत्र कस्तो पाउनु भएको छ ?

मार्केटिङ कुनै पनि व्यावसायिक संस्थाको प्रगतिको आधार हो । उचित र आवश्यकता अनुरुप मार्केटिङ गरेमा कम्पनीको व्यवसायमा आशातित सफलता प्राप्त गर्दै कम्पनी वजारमा स्थापित हुन्छ । त्यसकारण मार्केटिङले कम्पनीको उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालमा व्यावसायिक संस्थाहरुले मार्केटिङ र यसका रणनीतिहरुलाई उचित रुपमा प्रयोगमा ल्याएको खासै पाइदैन । मार्केटिङ रणनीतिको क्षेत्र वामे सर्ने अवस्थामा छ । मार्केटिङ र यसका रणनीतिहरुप्रति संस्थाहरु त्यती गम्भिर छन् जस्तो मलाई लाग्दैन । मार्केटिङको क्षेत्र धेरै विशाल र प्रचुर सम्भावनायुक्त क्षेत्र हो । वस्तुका अध्ययन, अनुसन्धान, आविष्कारदेखी, ग्राहकको व्यवहार, चाहना बुझ्ने र वस्तुलाई वजारमा स्थापित गर्ने र बिक्री वितरण गर्ने, बिक्रीपछिको सेवा दिने, ग्राहकका प्रतिक्रिया लिने आदी कार्य मार्केटिङका रणनीतिहरू तय गरिन्छन् । तर, नेपालका केही संस्थाहरु बाहेक प्रायःजसो संस्थाहरुले यसलाई पूरापूर अवलम्वन गरेको पाइदैन ।

देशमा सूचना प्रविधिको विकास व्यापक बन्दैछ । सूचना प्रविधि र मार्केटिङ रणनीतिकाबिच अन्योन्याश्रित सम्वन्ध हुने भएकाले विस्तारै यसको प्रयोग हुने आशा गर्न सकिन्छ । भनिन्छ, नेपाल दुई ढुङ्गाबिचको तरुल तर नेपालले अहिलेसम्म कुनै राम्रो प्रोडक्ट आविष्कार गरि भारत तथा चीनमा निर्यात गर्न सकेको छैन । नेपालका व्यावसायिक संस्थाहरुले भारत, चीनमा ग्राहकको चाहना, आवश्यकता, व्यवहार आदी अनुसन्धान गरेका छन् जस्तो मलाई लाग्दैन । यसैले प्रचुर संभावना र ठूलो जनसंख्या भएको मूलुकमा हामीले केही नयाँ बस्तु निर्यात गर्न सकेका छैनौं । भएका वस्तुहरु पनि उचित रणनीतिका अभावमा बजारीकरण गर्न सकिरहेका छैनौ । बीमा क्षेत्रमा पनि उचित मार्केटिङ रणनीतिका अभावका कारण पूरापूर बजारीकरण नभएको कारण ५६ प्रतिशत बीमा व्यवसायलाई समाहित गर्न सकिएको छैन । दुरदराजका कृषकले बीमा सम्वन्धि सचेतनाका अभावका कारण यसबाट लाभान्वित हुन सकेका छैनन् । त्यसैले नेपालको मार्केटिङ रणनीतिलाई प्रणालीगत रुपमा परिचालन गरि सवै क्षेत्रमा यसलाई चलायमान गराउन आवश्यक रहेको छ ।

मार्केटिङ रणनीतिमा सुधार गर्नुपर्ने विषयहरू के के हुन सक्छन् ?

नेपालका प्रायःजसो संस्थाहरुले गम्भिररुपमा मार्केटिङ र यसका रणनीतिहरुलाई कागजमा मात्रै होइन व्यवहारमा लागू गर्नुपर्छ । प्रत्येक संस्थाले प्रोडक्ट अनुसन्धान विकास विभाग स्थापना गरि मार्केटिङ विभागसँग सामञ्जस्यता ल्याई कार्य गर्नु पर्दछ । नेपाल एक विकासोन्मुख मूलुक भएकोले अवसर र चुनौती दुवै रहेको छ । चुनौतीलाई आत्मसाथ गर्दै अवसरलाई पहिल्याउने हो भने संस्थाको उन्नति अवस्यभावी छ । हुन त मार्केटिङ र यसका रणनीतिहरू तय गर्दा केही खर्चिलो हुन्छ नै । तर भोलि हेरेर आज निर्णय गर्दा अवश्य नै संस्थाको विकास हुन्छ । कम्पनीको बजेटमा नै मार्केटिङको लागि उचित व्यवस्थापन गरियो भने मार्केटिङ र रणनीतिको लागि खर्चको अभाव नहुन सक्छ । त्यसैले व्यावसायिक संस्थाले मार्केटिङका लागि राम्रो वजेट व्यवस्थापन गर्नुपर्दछ ताकी देशका कुनाकाप्चामा समेत उचित रुपमा आफ्ना प्रोडक्टहरुका बारेमा प्रचारप्रसार गर्न सकियोस । नेपालको सम्पूर्ण मार्केटको केवल ४४ प्रतिशतमात्र बीमा व्यवसायमा समाहित छ र ५६ प्रतिशत मार्केट अझै पनि बाहिर छ । त्यसैले सम्भावना बीमा क्षेत्रका लागि पनि प्रचुर रहेको छ ।

यसका लागि उचित मार्केटिङ रणनीति लागू गर्दै यस क्षेत्रका लक्षित, सम्भावित ग्राहकहरु पहिचान गरि, सचेतनाका माध्यमबाट बढी भन्दा बढी ग्राहक बनाउन ढिलो गर्नु हुन्न । नियमनकारी निकायहरुको नीति नियमहरु पालना गर्दै अगाडि बढ्ने हो भने वजारमा स्वस्थ प्रतिस्पर्धाबाट उपभोक्ताहरु लाभान्वित हुन्छन र कम्पनीका व्यवसायहरु पनि दिर्घकालसम्म अनवरत चलिरहन्छन् । विद्यालयहरुमा कक्षा ५ देखी नै बीमा सम्बन्धी विषयको शिक्षा प्रदान गर्ने पाठ्यक्रम विकास गर्न जरुरी देखिन्छ । यसबाट निश्चय नै बीमा सचेतनामा वृद्धी भई बीमा व्यवसायमा पनि सकारात्मक असर पर्दछ । विदेशी बीमा कम्पनीहरु नेपालमा क्रियाशिल भए जस्तै नेपालका बीमा कम्पनीहरुले पनि नेपाली श्रमिकहरु, विधार्थीहरु, उधोगपतिहरु बसोवास गर्ने विभिन्न देशहरु जस्तैः भारत, कतार, यूएई, कुवेत,जापान, दक्षिण कोरीया, अमेरिका र साउदी अरव जस्ता देशहरुमा सम्भाव्यता अध्ययन र रणनितिक मार्केटिङ गरि शाखा विस्तार गर्न जरुरी रहेको देखिन्छ ।

दाबी भुक्तानी कार्य चुस्त दुरुस्त पार्ने, झण्झटिलो निर्देशिकालाई सहज पार्ने वातावरण वनाउने कार्य गरि ग्राहकको विश्वास जित्न आवश्यक देखिन्छ । व्यवसायको जोखिम अनुसारले बीमा शुल्क निर्धारण गरि बीमा गरिएमा बीमा कम्पनी र ग्राहक दुवैले लाभ प्राप्त गर्छन र व्यवसाय दिर्घकालसम्म अनवरत चलिरहनेछ । बीमाबाट कसरी लाभ लिन सकिन्छ, कति बीमाशुल्क भुक्तानी गर्दा के के सुविधा पाइन्छ, कस्ता कस्ता जोखिमहरु भविष्यमा आउन सक्छन आदीका विषयमा ग्राहकले बुझ्ने गरि प्रसार गरियो भने वास्तवमै ग्राहकहरु बीमाप्रति आकर्षीत हुन्छन । जस्तै एउटा आवाशिय १ करोड मूल्य भएको घरको बीमा गर्दा करिव ५ हजार ५२९ रुपैयाँ एक वर्षको बीमाशुल्क लाग््दछ । भूकम्पीय जोखिमको १० स्थानमा पर्ने नेपालमा घर बीमा गर्न जरुरी छ । सम्पूर्ण नोक्सानी भएमा सर्भेयरको प्रतिवेदन अनुसारले दावी भुक्तानी हुन्छ भनी सम्भावित ग्राहकलाई बुझाउदा पक्कै पनि ग्राहक बीमा गर्न तत्पर हुन्छन । त्यसैले बीमा कम्पनीहरुले अव नयाँ ढंगको बजारीकरण रणनीति तय गरि बजारीकरण गर्न जरुरी रहेको मेरो अनुभव र बुझाइले भन्छ ।

Share News