
काठमाडौं । ओपन आइज नेपाल र निजगढ तिलगंगा सामुदाायिक आँखा अस्पतालको सहकार्यमा निजगढमा रेटिनोब्लास्टोमा (बालबालिकाकाे आँखामा हुने क्यान्स) बारे सचेतना अभियान तथा आर्क लाईट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरूको लागि बालबालिकामा हुने रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचानको महत्व र प्रविधिबारे तालिम दिइएको हो । तालिममा आँखा क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले रेटिनोब्लास्टोमा बारेमा प्रकाश पारेकी थिइन् ।
रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । यो नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकामा देखा पर्दछ ।
१५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पुुर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ ।
नेपाललगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५०% रहेको छ तर विकसित देशहरुमा भने ५% भन्दा कम पाइएको छ ।
रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ ।
रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् ।
जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन् ।
उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ।
यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ । यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ ।
यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी,थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी इत्यादी प्रमुख उपचार पद्दतिमा पर्दछन् । प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ ।
तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुदै आईरहेको छ । विगत ६ वर्ष देखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले उपचार गराउँदै आएकी छन् ।
बर्सेनि ३५ देखि ४५ नयाँ बिरामीको संख्या उपचारको लागि आउने गरेका छन् जसमध्ये १५ जनाको दुबै आँखामा रोग लागेको पाइएको छ ।
यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।