काठमाडौं । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।
कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए ।
उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उनले बताए ।
‘कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ’ उनले भने ।
कम्पनीमा हाल तीन सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस उद्योगले सन् २०२४ मा १ अर्ब १७ करोड ७० लाख, सन् २०२३ मा १ अर्ब ११ करोड ४० लाख र सन् २०२२ मा १ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको नाफा अनुपात पनि बर्सेनि बढ्दै गएको देखिन्छ । सन् २०२२ मा २३.८२ प्रतिशत रहेको नाफा अनुपात सन् २०२३ मा २६.२७ प्रतिशत र सन् २०२४ मा २८.४४ प्रतिशत पुगेको छ । यस यो औषधी उद्योगले ९० करोड ८० लाख रुपैयाँको ऋणको रेटिङ गराएको छ ।