काठमाडौं । लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चैत ८ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँको १.२४ प्रतिशतका दरले ६ करोड १८ लाख ५८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशतका दरले ३९ करोड ६२ लाख ५४ हजार रुपैयाँ नगद गरी कुल ९.२४ प्रतिशत लाभांश पारित गर्नेछ ।
कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड रुपैयाँ, बोनस सेयर वितरणपश्चत् जारी पुँजी र चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेछ । कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको नयाँ बानेश्वरबाट परिवर्तन गरी नक्साल कायम गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेछ ।
गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक जेबी राजभण्डारी एण्ड डिबीन्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।
लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २६ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।