काठमाडौं । लिलाममा बिक्री गरिएको लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)को कटअफ मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार कम्पनीको सेयरको कटअफ मूल्य १ हजार २२ रुपैयाँ कायम भएको हो ।
कम्पनीले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार कित्ता सेयर गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म बिक्री खुला गरेको हो ।
गोप्य शिलबन्दीपत्रद्वारा खरिद गर्न आएका बोलपत्रलाई फागुन १२ गते खोलि फागुन १५ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कटअफ प्राइस १ हजार २२ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाएका छन् ।
बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी फागनु १९ गतेदेखि गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा एसबिआई मर्चेन्ट बैंकिङ्गमा सम्पर्क गर्न कम्पनीले सूचीत गराएको छ ।
कम्पनीले बिक्री गरेको उक्त सेयरमध्ये एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको हो ।