निर्जीवन बीमा व्यवसाय काठमाडौं केन्द्रित, मोटर र सम्पत्ति बीमाको हिस्सा बढ्दै

<p>काठमाडौं । बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आफ्नो व्यवसाय विस्तार ग्रामिण क्षेत्रमा बढाउन निर्देशन दिएपनि कम्पनीहरु भन् सुगमकेन्द्रित देखिएका छन् । प्राधिकरणको तथ्यांकअनुसार नेपालको सुगम मानिने बागमी प्रदेशमा मात्रै कम्पनीको व्यवसायको हिस्सा ६६ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना अर्थात माघसम्मको तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आफ्नो व्यवसाय विस्तार ग्रामिण क्षेत्रमा बढाउन निर्देशन दिएपनि कम्पनीहरु भन् सुगमकेन्द्रित देखिएका छन् । प्राधिकरणको तथ्यांकअनुसार नेपालको सुगम मानिने बागमी प्रदेशमा मात्रै कम्पनीको व्यवसायको हिस्सा ६६ प्रतिशत छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना अर्थात माघसम्मको तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल २४ अर्ब ७७ करोड ७० लाख व्यवसाय गरेकोमा बागमती प्रदेशबाट मात्रै १६ अर्ब ५५ करोड ८७ लाख रुपैयाँको व्यवसाय गरेका छन् । यो कुल व्यवसायको ६६.८३ प्रतिशत हिस्सा हो ।

बागमती प्रदेशपछि निर्जीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशमा बढी व्यवसाय गरेका छन् । कम्पनीहरूले चालु आवको सात महिनामा लुम्बिनी प्रदेशबाट २ लाख ९६ हजार २५७ बीमालेख जारी गरी २ अर्ब १९ करोड ७७ लाख बीमा शुल्क आर्जन गरेको हो । जुन कुल बीमा शुल्कको ८.८७ प्रतिशत हो । धेरै बीमा शुल्क संकलन भएको तेस्रो प्रदेशमा कोशी प्रदेश रहेको छ । उक्त प्रदेशमा निर्जीवन बीमा कम्पनीहरूले कुल व्यवसायको ८.६८ प्रतिशत अर्थात २ अर्ब १५ करोड १५ लाख व्यवसाय छ ।

त्यसैगरी कम्पनीहरुले मधेस प्रदेशबाट ६.७४ प्रशितशत अर्थात १ अर्ब ६७ करोड ११ लाख बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले गण्डकी प्रदेशबाट १ अर्ब ३२ करोड ५७ लाख व्यवसाय गरेका छन् । जुन कुल बीमा व्यवसायका ५.३५ प्रतिशत रहेको छ ।

सुदुरपश्चिम र कर्णाली प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले एक अर्बभन्दा कम व्यवसाय गरेको देखिन्छ । तथ्यांकअनुसार कम्पनीहरुले सुदूरपश्चिम प्रदेशबाट ६३ करोड ९५ लाख र कर्णाली २३ करोड २५ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल बीमा शुल्क संकलनको क्रमशः २.५८ र ०.९३ प्रतिशत मात्रै हो ।

निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा, सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमा व्यवसाय गर्दै आएका छन् । 

मोटर बीमाको हिस्सा बढी

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै देखिएको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरिएको छ । यसकारण पनि यो क्षेत्रको हिस्सा उच्च देखिएको हो । चालु आवको सात महिनाको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा मोटर बीमाले ३३ प्रतिशत हिस्सा ओगटेको छ ।

सात महिनामा कम्पनीहरुले मोटर बीमाबाट मात्रै ७ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ व्यवसाय गरेका हुन् । गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको मोटर बीमाबाट संकलन हुने बीमा शुल्कमा वृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा मोटर बीमाबाट ७ अर्ब ३० करोड ६७ लाख व्यवसाय आर्जन गरेका थिए ।

चालु आवको माघसम्ममा बागमती प्रदेशबाट मात्रै कम्पनीहरुले ४ अर्ब ४४ करोड ७७ लाख बीमा शुल्क संकलन गरेका छन् । लुम्बिनी प्रदेशबाट ९३ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । अन्य प्रदेशहरुमा कोशी प्रदेश ६७ करोड ३६ लाख, मधेस प्रदेश ५७ करोड २३ लाख, गण्डकी प्रदेश ६४ करोड ८५ लाख, सुदुरपश्चिम २९ करोड ५६ लाख र कर्णाली प्रदेशबाट ११ करोड रुपैयाँ बराबरको व्यवसाय भएको छ ।

सम्पति बीमा

मोटर बीमापछि कुल बीमामा सम्पति बीमाको हिस्सा बढी छ । चालु आवको माघसम्ममा सम्पति बीमाको हिस्सा २५.५६ प्रतिशत छ । यस अवधिमा कम्पनीहरुले ६ अर्ब ३३ करोड ४५ लाख रुपैयाँको सम्पति बीमाको व्यवसाय गरेका छन् । गत आवको सोही अवधिको तुलनामा यस चालु आवमा सम्पति बीमाबाट हुने व्यवसायमा कमी आएको छ । गत आवको सोही अवधिमा कम्पनीहरुले सम्पति बीमामार्फत ५ अर्ब ५७ करोड २४ लाख व्यवसाय गरेको थियो ।

कम्पनीहरुले बागमती प्रदेशबाट मात्रै ३ अर्ब ५५ करोड ९० लाख रुपैयाँको सम्पति बीमाको व्यवसाय गरेका छन् । कम्पनीहरुले लुम्बिनी प्रदेशबाट ७० करोड ५६ लाख, कोशी प्रदेश ८३ करोड ३ लाख, मधेश ६६ करोड ३९ लाख, गण्डकी ३१ करोड ३४ लाख, सुदुरपश्चिम १९ करोड ५० लाख र कर्णाली प्रदेशबाट ६ करोड ७२ लाख रुपैयाँको सम्पति बीमाको व्यवसाय गरेका छन् ।

इन्जिनियर तथा ठेकेदार जोखिम बीमा

तथ्यांकअनुसार सम्पति बीमापछि इन्जिनियर तथा ठेकेदार सम्पूर्ण जोखिमको हिस्सा बढी छ । सात महिनामा इन्जिनियर तथा ठेकदार सम्पूर्ण जोखिम बीमाको हिस्सा १४.५७ प्रतिशत छ । उक्त अवधिमा कम्नपीहरुले ३ अर्ब ६१ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये बागती प्रदेशबाट ३ अर्ब ४ करोड ८४ लाख रुपैयाँको इन्जिनियर तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको व्यवसाय गरेका छन् । अन्य प्रदेशहरुमा कोशी १५ करोड ७३ लाख, लुम्बिनी १२ करोड ७३ लाख, मधेश १० करोड ६३ लाख, गण्डकी ८ करोड ६० लाख, सुदुरपश्चिम ६ करोड ४८ लाख र कर्णालीबाट २ करोड रुपैयाँको व्यवसाय इन्जिनियर तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको व्यवसाय गरेका छन् ।

सामुन्द्रिक बीमा

चालु आवको सात महिनाको अवधिमा कुल बीमा व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा ५.८७ प्रतिशत छ । सो अवधिमा कम्पनीहरुले १ अर्ब ४५ करोड ५६ लाख रुपैयको सामुन्द्रिक बीमाको व्यवसाय गरेका हुन् । गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुले सम्पति बीमा शुल्क बढाएका छन् । .गत आवको सोही अवधिमा कम्पनीहरुले १ अर्ब २० करोड २४ लाखको सामुन्द्रिक बीमाको व्यवसाय गरेका थिए ।

तथ्यांकअनुसार चालु आवको सात महिनामा बागमती प्रदेशबाट कम्पनीहरुले ९८ करोड १५ लाख रुपैयाँको सामुन्द्रिक बीमाको व्यवसाय गरेका छन् । बागमती प्रदेशपछि कम्पनीहरुले लुम्बिनी ९ करोड ८६ लाख, कोशी २१ करोड ५७ लाख, मधेश १३ करोड ७२ लाख, गण्डकी १ करोड २७ लाख, सुदुपश्चिम ९१ लाख र कर्णालीबाट ६ लाख रुपैयाँको सामुन्द्रिक बीमाको व्यवसाय गरेका छन् ।

हवाई बीमा

तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा हवाई बीमाको हिस्सा ५.४६ प्रतिशत छ । उक्त अवधिमा कम्पनीहरुले १ अर्ब ३५ करोड ५० लाख रुपौयाँको हवाई बीमाको व्यवसाय गरेका छन् । कम्पनीहरुले बागमती प्रदेश र गण्डकी प्रदेशबाट हवाई बीमाको व्यवसाय गरेको देखिन्छ । सो अवधिमा कम्पनीहरुले बागमती प्रदेशबाटै १ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ बराबर हवाई बीमाबाट बीमा शुुल्क आर्जन गरेका छन् । गण्डकी प्रदेशबाट कम्पनीहरुले सात महिनामा १६ लाख रुपैयाँ हवाई बीमाको व्यवसाय गरेको देखिन्छ ।

यस्तै यस अवधिमा निर्जीवन बीमाको कुल व्यवसायमा विविधको हिस्सा ११.५२ प्रतिशत छ । कम्पनीहरुले विविधि बीमाबाट २ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये बागमती प्रदेशबाटमात्रै विविधि बीमाबाट २ अर्ब ४८ करोड ९९ लाख बीमा शुल्क संकलन गरेका छन् ।

लघु र कृषि तथा बालीको हिस्सा न्यून

निर्जीवन बीमा व्यवसायमा लघु र कृषि तथा बालीको हिस्सा न्युन छ । चालु आवको सात महिनाको तथ्यांकअनुसार निर्जीवन बीमाको कुल व्यवसायमा लघु बीमाको हिस्सा २ प्रतिशत मात्रै छ । त्यस्तै कृषि तथा बालीको हिस्सा ३.९ प्रतिशत छ । सात महिनामा कम्पनीहरुले लघु बीमाबाट ५१ करोड ३२ लाख र कृषि तथा बालीबाट ९६ करोड ४७ लाख बीमा शुल्क संकलन गरेका छन् ।

Share News