काठमाडौं । औषधी व्यापारमा एक अग्रणी कम्पनीको परिचय बनाएको यतिकेम डिस्ट्रिब्यूटर्स कम्पनीले निरन्तर व्यावसायीक छलाङ मारेको देखिएको छ । सन् २००१ मा स्थापना भएको यो कम्पनीले प्रत्येक वर्ष आम्दानी बढाउँदै गएको देखिएको हो ।
यतिकेम ग्रुपद्वारा सञ्चालित यस कम्पनीले सन् २०२४ मा १ अर्ब ८० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष अर्थात् सन् २०२३ को तुलनामा साढे दुई करोड रुपैयाँ बढी हो । सन् २०२३ मा यस कम्पनीले १ अर्ब ७७ करोड ६० लाख, सन् २०२२ मा १ अर्ब ७३ करोड २० लाख, सन् २०२१ मा १ अर्ब ६० करोड १० लाख र सन् २०२० मा १ अर्ब ४० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
पछिल्लो पाँच आर्थिक वर्षमा यस कम्पनीले निरन्तर आम्दानी बढाउँदै गएको छ भने सोही अनुसार नाफा पनि बढाउँदै लगेको छ । यसैगरी, कम्पनीका अन्य वित्तीय सूचक पनि सुधारात्मक अवस्थामा छन् ।
कम्पनीको सञ्चालन नाफा अनुपात ९ प्रतिशत कायम भएको छ । सन् २०२३ मा कम्पनीको नाफा १०.३ प्रतिशत थियो । अघिल्ला आर्थिक वर्षहरूमा आम्दानी क्रमिक रूपमा वृद्धि देखिएकोले कम्पनीको दीर्घकालीन नाफा क्षमता पनि सकारात्मक नै देखिन्छ ।
कम्पनीले ऋणभार पनि घटाउँदै गएको देखिन्छ भने तरलता तथा ब्याज भुक्तानी क्षमतामा पनि सुधार देखिएको छ ।
यस कम्पनीले मधुमेह, क्यान्सर, क्षयरोग लगायतका दीर्घरोगसम्बन्धी औषधीहरूको बिक्री गर्दै आएको छ । कम्पनीले स्थानीय तथा अन्तर्राष्ट्रिय उत्पादक तथा आपूर्तिकर्ताबाट औषधी खरिद गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।
यस कम्पनीमा प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको ५०/५० सेयर लगानी छन् । उनीहरू दाजुभाइ हुन् । काठमाडौंको सुन्धारमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले नेपालभरका अस्पताल, फार्मेसी तथा स्वास्थ्य संस्थाहरूमा औषधी आपूर्ति गर्दै आएको छ ।
रेटिङ कम्पनी इक्रा नेपालका अनुसार यस कम्पनीले ९० करोड १० लाख रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ ।
अन्य फार्मास्युटिकल्स उद्योग तथा विक्रेताहरूले निरन्तर व्यवसाय घटिरेहको गुनासो गरिरहेको बेला यतिकेम डिस्ट्रिब्यूटर्स कम्पनीले भने निरन्तर आम्दानी बढिरहेको र नाफा पनि सन्तोषजनक नै गरिरहेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।