
काठमाडौं । बदाम स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिन, फाइबर, भिटामिन, खनिज र ओमेगा- ३ फ्याटी एसिड हुन्छ । जुन शरीरको लागि आवश्यक पोषक तत्व हो । बिहान खाली पेटमा रातभर पानीमा भिजाएर राखेको बदाम खाँदा धेरै समस्याबाट बच्न सकिन्छ । भिजाएको बदाम खानुका धेरै फाइदा छन् । आउनुहोस् भिजाएको बदाम खाँदा के-कस्तो फाइदा हुन्छ, यसबारेमा चर्चा गराैं ।
कोलेस्ट्रोल नियन्त्रणमा
बदाम खानाले एलडीएल भनिने खराब कोलेस्ट्रोलको स्तर कम गर्न र राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्छ । यसैगरी, उच्च घनत्व एचडिएलको स्तर बढाउन मद्दत गर्छ । बदाममा एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि हुन्छन्, जसले मुटुसम्बन्धी रोगबाट बचाउन मद्दत गर्दछ ।
तौल नियन्त्रणमा
बदाममा क्यालोरी धेरै भए पनि यसले तौल बढ्ने र मोटोपनको जोखिम कम गर्न मद्दत गर्छ । बदाममा पाइने प्रोटिन र फाइबरले तपाईंलाई चाँडै पेट भरिएको महसुस गराउन मद्दत गर्छ। त्यसैले तपाईंले आफ्नो भोक मेटाउँदै आफ्नो क्यालोरी सेवनलाई राम्रोसँग नियन्त्रण गर्न सक्नुहुन्छ ।
रगतमा चिनी नियन्त्रण
मधुमेहका बिरामीहरूले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्नु धेरै महत्त्वपूर्ण छ । बदाममा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ र यसमा फाइबर पनि हुन्छ, त्यसैले बदाम खाँदा यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
छालाको लागि पनि फाइदाजनक
बदाममा प्रोटिन, भिटामिन, खनिज, फाइबर र ओमेगा–३ फ्याटी एसिड पाइन्छ । त्यसैले यसलाई खाँदा तपाईंको छाला पनि स्वस्थ रहन्छ । यसमा पाइने पोषक तत्वहरूले बुढ्यौलीका लक्षणहरूलाई टाढा राख्छ ।