काठमाडौं । बीमा व्यवसायको विस्तारसँगै जीवन बीमा कम्पनीहरूबाट भएको लगानी वार्षिक रूपमा वृद्धि हुँदै गएको छ । बीमा कम्पनीहरू लगानी वृद्धि नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको २०८०/८१ को वार्षिक प्रतिवेदनले नै देखाएको हो ।
तथ्यांकअनुसार पाँच आर्थिक वर्षमा बीमा कम्पनीहरूको लगानी १३० प्रतिशत अर्थात् ३ खर्ब ६३ अर्ब ९८ करोड रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा २ खर्ब ७९ अर्ब २९ करोड रुपैयाँ लगानी थियो । पाँच वर्षको अवधिमा दोब्बरले बढेर आव २०८०/८१ मा आइपुग्दा जीवन बीमा कम्पनीहरूको लगानी ६ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरूले आव २०७७/७८ मा ३ खर्ब ३ खर्ब ५८ अर्ब ७ करोड रुपैयाँ, २०७८/७९ मा ४ खर्ब ५० अर्ब ७ करोड रुपैयाँ र आव २०७९/८० मा ५ खर्ब ३५ अर्ब ६२ करोड रुपैयाँ लगानी थियो ।
कुन कम्पनीको कति लगानी ?
पाँच वर्षको अवधिका सबैभन्दा धेरै लगानी वृद्धि नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । लगानी विस्तारमा आक्रामक बन्दै आव २०८०/८१ मा आइपुग्दा नेपाल लाइफको लगानी १ खर्ब ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । आव २०७६/७७ मा नेपाल लाइफको लगानी ३४ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । नेपाल लाइफले आव २०७७/७८ मा ८२ अर्ब ४२ करोड, २०७८/७९ मा १ खर्ब १५ करोड ४७ करोड र २०७९/८० मा १ खर्ब ३८ अर्ब ९० करोड लगानी गरेको तथ्याङ्क छ ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले आव २०७६/७७ मा ६६ अर्ब ८३ करोड लगानी रहेकोमा आव २०८०/८१ मा आइपुग्दा १ खर्ब १९ करोड रहेको छ । लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ६६ अर्ब १६ करोड, आव २०७८/७९ मा ७६ अर्ब ३६ करोड र आव २०७९/८० मा ८६ अर्ब ५१ करोड लगानी गरेको थियो ।
राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच आर्थिक वर्षमा २४ अर्ब रुपैयाँले लगानी बढाएको छ । उक्त जीवन बीमा कम्पनीले आव २०७६/७७ मा २४ अर्ब २६ करोड लगानी गरेकोमा आव २०८०/८१ मा बढाएर ४९ अर्ब २४ करोड पुर्याएको देखिन्छ । कम्पनीले आव २०७७/७८ मा ३१ अर्ब ५८ करोड, २०७८/७९ मा ३७ अर्ब ४३ करोड, २०७९/८० मा ४१ अर्ब लगानी गरेको थियो ।
एशियन लाइफ इन्स्योरेन्सले आव २०८०/८१ मा ४१ अर्ब १२ करोड लगानी गरेको छ । उक्त कम्पनको आव आव २०७६/७७ मा १९ अर्ब ६७ करोड रुपैयाँ मात्रै लगानी थियो । त्यस्तै मेट लाइफले आव २०७६/७७ मा २० अर्ब ३६ करोड लगानी गरेकोमा आव २०८०/८१ मा २८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ ।
आईएमई लाइफ इन्स्योरेन्सले आव २०८०/८१ मा १५ अर्ब १३ करोड लगानी गरेको छ । उक्त कम्पनीको पाँच वर्षअघि अर्थात आव २०७६/७७ मा २ अर्ब ८३ करोड मात्रै लगानी गरेको देखिन्न्छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७६/७७ मा ३ अर्ब ५५ करोड लगानी गरेकोमा आव २०८०/८१ मा १६ अर्ब २६ करोड पुगेको छ ।

८० प्रतिशतभन्दा बढी लगानी बैंकिङ क्षेत्रमा
जीवन बीमा कम्पनीहरूको आव २०८०/८१ मा बैंकिङ क्षेत्रमा मात्रै ८० प्रतिशतभन्दा बढी लगानी गरेका छन् । कम्पनीहरूले सबैभन्दा धेरै ५ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा भएको छ । कम्पनीहरूले बैंकिङ क्षेत्रपछि धेरै ऋणपत्रमा ११.१३ प्रतिशत अर्थात ७१ अर्ब ५८ करोड बराबरको लगानी गरेको देखिन्छ ।
त्यस्तै, जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ३६ करोड (५.०३) साधरण सेयरमा लगानी गरेका छन् । बीमा कम्पनीहरूको सबैभन्दा न्यून लगानी ३ अर्ब १० करोड अर्थात ०.४८ प्रतिशत सरकारी ऋणपत्रमा रहेको छ । बाँकी १४ अर्ब ८७ करोड अर्थात २.३१ प्रतिशत अन्य क्षेत्रमा लगानी भएको तथ्यांकमा देखिन्छ ।
