काठमाडौं । आवासीय चिकित्सकहरुले आज ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।
‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’का अध्यक्ष डा. शेषराज घिमिरेले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने बताएका छन् ।
उनी भन्छन्,‘ हामीले पटक पटक मागपारिश्रमिक माग गर्यौँ, तर सरकारले हामीमाथि विभेद यथावत राख्ने योजना बनायो, यो हामीलाई सह्य छैन ।’
उनले पहिलो दिन सोमबार विरामीलाई धेरै मर्का नपरोस् भनेर तत्काललाई तीन घण्टामात्र ओपीडी सेवा बहिस्कार गरेको भन्दै उनले आफूहरुको मागलाई बेवास्ता गरे आकस्मिक बाहेकका सबै सेवा पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिए ।
यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका चिकित्सकले माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।