काठमाडौं । लाइन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले नुवाकोटमा हेल्थ क्याम्प गर्ने भएको छ । लाइन्स क्लबको आयोजनामा आगामी फागुन ३ गते नुवाकोटको बेलकोटगडी नगरपालिका वडा नं. ३ मा हेल्थ क्याम्प आयोजना हुने भएको हो ।
यस क्याम्पमा १५० जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँच गरिने बताइएको छ।
क्लबकी अध्यक्ष कल्पना बस्नेतले भनिन्, ‘महिलाहरूको स्वास्थ्यको सुधार गर्न हामी चाहन्छौ । पाठेघरको मुखको क्यान्सर परिक्षण जस्तो महत्त्वपूर्ण स्वास्थ्य सेवा प्रदान गर्नाले महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउन सक्छ र भविष्यमा विभिन्न गम्भीर रोगहरूको बेलैमा रोकथाम गर्न मद्दत पुग्नेछ ।’
यस क्याम्पको लागि स्थानीय वडाको वडा अक्ष्यक्ष कौशिला पुडासैनीले समेत सहयोग गर्ने वचनवद्वता व्यक्त गरेकी छिन् । क्लबकी प्रथम उपाध्यक्ष तथा इ–ग्लोबल एजुकेशन कन्सल्टेन्सीकी सीइओ गीतान्जली शिवाकोटीले आफ्नो कन्सल्टेन्सीबाट २५ हजार रुपैयाँको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्, ‘हामी सबै मिलेर समुदायको स्वास्थ्य र भलाइको लागि काम गर्दैछौं ।’
कार्यक्रमको सञ्चालन क्लबकी सचिव सुष्मा आचार्यले गरेकी थिइन् । यस कार्यक्रममा क्लबका अन्य सदस्यहरूको पनि सहभागिता रहेको थियो, जसले क्याम्पको उद्देश्य र समुदायको स्वास्थ्य सेवामा योगदान पुर्याउने महत्त्वलाई जोड दिएको थियो ।
यस क्याम्पले बेलकोटगडी नगर पालिकाका महिलाहरूलाई बेलैमा उपचार गरि स्वस्थ जीवनयापन गर्न सक्ने कुरामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा राख्दै क्लबले सकेसम्म सबैलाई यो स्वास्थ क्याम्पमा सहभागी हुनको लागि अनुरोध समेत गरेको छ ।