काठमाडौं । सोमबारको सेयर बजारमा उतारचढाव देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार बन्द हुँदा ४ अंकले बढेर १३५८ दशमलब ४१ अंकमा अडेको छ । बजार खुलेको करिब एक घण्टामा १३७१ अंकमा पुगेको परिसूचक त्यसपछिको करिब एक घण्टामै घटेर १३५४ अंकमा झरेको थियो । त्यसपछिको कारोबारमा भने बजारलाई केही टेवा पुगेको देखिएको छ ।
सामान्य अंकले बढेको बजारमा ७४ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४१ कम्पनीको १५ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ११ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६६२ रुपैयाँ रहेको छ ।
सो दिन बीमा र फाइनान्स समुहको परिसूचक राता देखिएका छन् भने अन्य बाँकी समूहको परिसूचक हरिया देखिएका छन् । बीमा र फाइनान्स समुहको परिसूचक क्रमशः ३.५२ र २.१८ अंकले ओरालो लागेका हुन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ९.४४ अंकले उकालो लागेको छ ।