विराटनगर, ८ पुस । पूर्वाञ्चलमा आजदेखि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य समारोहबीच औपचारिक रुपमा सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ३ बजे विराटनगरस्थित सहिद रङ्गशालामा विधिवत् रुपमा प्रतियोगिताको उद्घाटन गर्नु भएपछि पूर्वाञ्चलका १३ जिल्लामा प्रतियोगिताको शुभारम्भ हुनेछ ।
प्रतियोगिताको भव्य उद्घाटनका लागि सहिद मैदानलाई बेहुलीझैँ सिङ्गारिएको छ । उद्घाटनका अवसरमा पूर्वाञ्चलका सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने तयारी गरिएको आयोजक समितिले जनाएको छ । मुलुकको पूर्वी नेपाल यतिखेर खेलकुदमय बनेको छ ।
सो अवसरमा खेलाडीको स्वागतका लागि पूर्वाञ्चलका झापा, मोरङ र सुनसरीका मुख्य चौकमा स्वागतद्वार निर्माण गरिएको छ । खेलाडीका साथै प्रशिक्षक लगायतको बस्ने र खाने व्यवस्थासमेत सम्बन्धित जिल्लाका होटेलमा मिलाइएको छ ।
जम्मा ३० वटा खेलमा हुने प्रतिस्पर्धामध्ये सवैभन्दा बढी सुनसरीमा १२, मोरङमा १०, झापामा पाँच तथा सप्तरी, सिरहा र धनकुटामा एक–एकवटा खेलमा प्रतिस्पर्धा हुनेछ । साथै पूर्वाञ्चलमा पूर्वाधार नभएको कारणले ललितपुरको सातदोबाटोमा महिला/पुरुषको स्क्वास, काठमाडौँमा फेन्सिङ र कास्कीको पोखरामा महिला/पुरुष लनटेनिसको प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी गराएका छन्।
तीसवटा खेलको प्रतियोगितामा तीनहजार नौसय ७२ जना खेलाडीको सहभागिता रहनेछ भने ती खेलाडीले दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । रासस