काठमाडौं ८, पुस । बैंक तथा वित्तीय संस्थाले अल्पकालीन निक्षेपको योजनामै दीर्घकालीन प्रकृतिको कर्जा प्रवाह गर्दा समस्या देखिएको छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता)को अवस्था छिटोछिटो परिवर्तन हुने हुँदा दीर्घकालीन कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई समस्या परेको हो ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अल्पकालीन निक्षेप लिएर दीर्घकालीन प्रकृतिको कर्जा प्रवाह गर्नुपर्ने बाध्यता रहेको बताए । “तरलता अभावका कारण अहिले बैंकहरुसँग कर्जा दिने पैसा छैन,” उनले भने, “दीर्घकालीन प्रकृतिको कर्जामा सम्झौता अगाडि भए पनि कर्जा प्रवाहपछि हुने हुँदा ऋण दिन समस्या छ ।”
नेपाल राष्ट्र बैंकले कृषि तथा ऊर्जामा कर्जा प्रवाह अनिवार्य गरेपछि बैंक तथा वित्तीय संस्थाले यसमा कर्जा प्रवाहको रकम बढाएका छन् । कृषि क्षेत्रमा तत्काल ऋण गए पनि ऊर्जा क्षेत्रमा सम्झौता गरेको दुई वर्षपछि ऋण जाने हुँदा तरलता अभाव हुँदा कर्जा दिन समस्या हुने गरेको छ ।
सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र अल्पकालीन निक्षेप लिएर दीर्घकालीन कर्जा दिन समस्या हुने गरेको बताउँछन् । “सिद्धार्थ बैंकले नै करिब २ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्ने सम्झौता गरेको छ,” उनले भने, “सम्झौताको करिब २५ प्रतिशत कर्जा गएको छ । अहिले कोही सम्झौताअनुसारको ऋण लिन आएमा दिनसक्ने अवस्था छैन ।”
बैंक तथा वित्तीय संस्थाले स्वदेशी लगानीमा निर्माण हुने जलविद्युत् आयोजनामा करिब १ खर्ब रुपैयाँ कर्जा दिने सम्झौता गरेका छन् । तर, कात्तिकसम्म जम्मा ४५ अर्ब रुपैयाँ कर्जा गएको छ अर्थात सम्झौताको ५० प्रतिशत रकम पनि जलविद्युत् क्षेत्रमा कर्जा गएको छैन ।
वित्तीय स्रोत जुटाउन हुने सम्झौता भएपछि आयोजना निर्माणको काम सुरु हुने र प्रवद्र्धकले निर्माणको कामअनुसार ऋण रकम लिँदै जाने गर्छन् । तरलता अभावको कारण सम्झौता हुँदाको समयभन्दा ब्याजदर बढ्ने हुँदा यसले निर्माण आयोजनाको लागतलाई समेत बढाएको हुन्छ । सरकारले जलविद्युत् क्षेत्रमा पुनरकर्जाको सुविधा दिए पनि यो प्रभावकारी भने हुन सकेको छैन ।
“अहिले निक्षेपको बढीमा तीन वर्षको योजना छ,” सिद्धार्थ डेभलपमेन्ट बैंकका सीईओ मिश्रले भने, “कर्जा भने १० देखि १५ वर्षको अवधिलाई दिनुपर्छ । खासगरी सम्झौता हुने र ढिलो ऋण जाने जलविद्युत्सहित निर्माण क्षेत्रको ऋण प्रवाहमा तरलता अभावले बढी समस्या उत्पन्न गर्ने गरेको छ ।” कारोबार दैनिकबाट ।