काठमाडौं, ७ पुस । सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक आफैं बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आइएल एण्ड एफएसँगको सम्झौता तोडेर फास्ट ट्रयाक आफैं बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयलाई बिहिबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो ।
‘फास्ट ट्रयाक आफैं बनाउने मन्त्रालयको निर्णयलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ, अब थप प्रक्रिया अघि बढाउँछौं’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । मन्त्रिपरिषदले नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यिय अध्ययन समिति पनि गठन गरेको छ । समितिले फास्ट ट्रयाक निर्माणको मोडल र वित्तिय व्यवस्थापनबारे अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने छ ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोद कुमार वैद्यलाई नियुक्त गरेको छ भने नेपाल औषधी लिमिटेडको महाप्रबन्धकमा रोबस कुसुम सुवेदीलाई नियुक्त गरेको छ ।
त्यस बाहेक राष्ट्रिय फुटबल टिमलाई ७५ लाख पुरस्कार दिने निर्णय पनि बिहिबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।
शुक्लाफाँट वन्यजन्तु आरक्षको नाम परिर्वतन गर्दै राष्ट्रिय निकुञ्जका रुपमा स्तरोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ ।