काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले बिहीबार प्रभु बैंकको सेयर कारोबार खोल्नको लागि नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्ने समेत निर्णय गरिसकेको छ ।

राष्ट्र बैकका प्रबक्ता नारायण पौडेलका अनुसार प्रभु बैंकको सेयर कारोबार खोल्ने विषयमा सञ्चालक समितिमा छलफल भएको र अव छिट्टै निर्णय सार्वजनिक हुने छ ।
ग्राण्ड बैंक प्रभु बैंकमा मर्जर भएर एकीकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकले प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्ड बैंकको खराव कर्जा धेरै भएको भन्दै कारोबार रोक्न निर्देशन दिएको थियो । सो निर्देशन पश्चात प्रभु बैंकको मात्र दुई दिन सेयर कारोबार भएको थियो । तर ग्राण्ड बैंक र प्रभु बैंक एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेपछि प्रभु बैंकको मात्र सेयर कारोबार गर्न नमिल्ने भन्दै धितोपत्र बोर्डले प्रभु बैंकको पनि कारोबार रोकेको थियो ।
नेपाल स्टक एक्सचेन्जले प्रभु बैकको मात्र कारोबार खोल्दा दुईदिन कारोबार भएको थियो भने सेयर मुल्य १० प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले ग्राण्ड तर्फको खराब कर्जाको अबस्था जटिल रहेको भन्दै ग्राण्डतर्फको सेयर कारोबार रोकेर कर्जा असुल गर्न प्रभु ब्यवस्थापनलाई दबाब दिइरहेको थियो । बितेको तीन महिनामा प्रभु बैंकले खराब कर्जा असुलीमा उल्लखनीय प्रगति गरेको आधारमा राष्ट्र बैंकले सेयर कारोबार खोल्न अनुमति दिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए ।
आगामी साताबाट प्रभु बैंकको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका प्रभु र ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ छ ।