चौधरी फाउण्डेसनद्वारा धादिङ्मा २६६ घर र दुई विद्यालय भवन हस्तान्तरण

<p>काठमाडौं, ६ पुस । चौधरी फाउण्डेसनले धादिङ् जिल्लाका भूकम्प प्रभावितहरुका लागि २६६ ट्रान्जिसनल होम (सिजी आश्रय) तथा दुई विद्यालय भवन (सिजी शिक्षालय) हस्तान्तरण गरेको छ । उक्त आश्रय जिल्लाको विकट उत्तरी गाविस बसेरीको नौवटा वडाका भूकम्प प्रभावितहरुका लागि हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । ‘भूकम्पपछि लामो समय बितिसकेको छ । तर, भूकम्प प्रभावितहरुको समस्या भने [&hellip;]</p>

काठमाडौं, ६ पुस । चौधरी फाउण्डेसनले धादिङ् जिल्लाका भूकम्प प्रभावितहरुका लागि २६६ ट्रान्जिसनल होम (सिजी आश्रय) तथा दुई विद्यालय भवन (सिजी शिक्षालय) हस्तान्तरण गरेको छ । उक्त आश्रय जिल्लाको विकट उत्तरी गाविस बसेरीको नौवटा वडाका भूकम्प प्रभावितहरुका लागि हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

cg_helps_edu_n_shelter_sect

‘भूकम्पपछि लामो समय बितिसकेको छ । तर, भूकम्प प्रभावितहरुको समस्या भने उस्तै छ’, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘भूकम्पमा घर गुमाएकाहरुलाई वैकल्पिक वासस्थानको व्यवस्था गर्नु हाम्रो दायित्व हो । चौधरी फाउण्डेसनले त्यही प्रयासलाई जारी राखेको छ ।’

सोमबार बसेरीमा आयोजित आश्रय हस्तान्तरण समारोहमा धादिङ्गका सहायक प्रमुख जिल्ला अधिकारी राममणि मिश्र तथा फाउन्डेशनका पदाधिकारीहरुले प्रभावितहरुलाई आश्रय हस्तान्तरण गरेका छन् ।

जिल्लामा भूकम्पपीडितको सहयोगका लागि स्थानीय प्रशासनबाट भएको प्रतिबद्धता स्मरण गर्दै मिश्रले भने- ‘भूकम्पपछि पाल र टहरामुनि बस्नुपर्ने अवस्थाबाट मुक्ति दिन र पीडितका लागि तत्काल बसोबास उपलब्ध गराउनका लागि फाउन्डेसनद्वारा निर्मित यी ट्रान्जिसनल होमहरु बरदान सावित भएका छन् ।’

कम्पनीले सोही दिन धादिङ्गको सल्यानटारमा चौधरी फाउन्डेसनद्वारा निर्मित दुई भूकम्पप्रतिरोधी विद्यालय भवनहरु पनि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बताएको छ । सल्यानटार- ४ अवस्थित रानीपौवा उच्च माध्यमिक विद्यालय तथा सल्यानटार- ८ अवस्थित कमलादेवी निम्न माध्यमिक विद्यालयका लागि बनाइएका भवनहरु धादिङ्गका सहायक प्रमुख जिल्ला अधिकारी राममणि मिश्र तथा चौधरी फाउन्डेशनका पदाधिकारीहरुले हस्तान्तरण गरेका हुन् ।

भूकम्पप्रभावित विद्यालयहरुको पुनस्थापना लागि ल्याइएको सिजी शिक्षालय कार्यक्रम अन्तर्गत बनाइएका यी दुवै विद्यालय भवनमा ४० विद्यार्थी क्षमताका चार–चार कक्षाकोठाहरु रहेका छन् । चौधरी फाउण्डेसनले भूकम्पबाट प्रभावित क्षेत्रमा आश्रय र विद्यालय पुनर्निर्माण योजना कार्यान्वयनमा ल्याएको थियो ।

Share News