काठमाडौं, ५ पुस । नाम जुधेपछि सिद्धार्थ डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबीच नामको लडाई शुरु भएको छ । यो लडाईमा नेपाल राष्ट्र बैंकले सिद्धार्थ बैंकलाई काखी च्यापेको छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकलाई नाम परिवर्तन गर्न दवाव दिदै आएको छ । सिद्धार्थ बैंक नयाँ, ठूलो र काठमाडौंमा जन्मे/हुर्केको वाणिज्य बैंक हो भने सिद्धार्थ डेभलपमेन्ट बैंक पुरानो, सानो र मोफोसलमा जन्मेर विस्तार हुँदै राजधानीमा आएको राष्ट्रिय स्तरको विकास बैंक हो ।

नाम जुधेको भन्दै नेपाल राष्ट्र बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई नाम परिवर्तन गर्नको लिखित निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशन पालना गर्दै सिद्धार्थ डेभलपमेन्ट बैंक गत महिना सम्पन्न १७ औ साधारणसभामा नाम परिवर्तनको लागि प्र्रस्ताव निणायर्थ पेश गरेको थियो ।
उसले पाँच वटा नयाँ नामहरु समेत प्रस्ताव समेत पेस गरेको थियो । नयाँ नामको रुपमा स्टेट डेभलपमेन्ट बैंक, बुद्ध डेभलपमेन्ट बैंक, नेपाल एसियन डेभलपमेन्ट बैंक, एकता डेभलपमेन्ट बैंक र ओजस्वी डेभलपमेन्ट बैंक प्रस्ताव गरिएकोमा साधारणसभाले अस्वीकृत गर्ने निर्णय गर्यो ।

अन्य बैंकसँग नाम मिल्दोजुल्दो देखिएको र यसबाट सर्वसाधरणमा भ्रम उत्पन्न हुने हुनाले बैंकलाई स्वीकार्य हुनेगरी अन्य नाम परिवर्तन गर्न राष्ट्र बैंकले निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘सिद्धार्थ डेभलपमेन्ट बैंकको साधारणसभाले नाम परिवर्तन गर्न नमानेको विषय जानकारीमा आएको छ । यस विषयमा कानुनी परामर्श गरिरहेका छौ, यस विषयमा उचित समय आएपछि उचित निर्णय गरिनेछ’ उनले भने ।
सबै प्रकारका कम्पनी दर्ता र अभिलेख राख्दै आएको कम्पनी रजिष्ट्रारको कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठका अनुसार यस प्रकृतिको विवादमा कम्पनी ऐन अनुसार जुन कम्पनी पहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो सोही कम्पनीको नाम सदर हुन्छ । नाम मिल्दो जुल्दो भएको अवस्थामा पछि दर्ता हुने कम्पनीले नाम परिवर्तन गर्नुपर्छ ।
‘सिद्धार्थ डेभलपमेन्ट बैंकको साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय गरी नामसहित ल्याएमा सोही नाम राख्ने र विवाद भएको खण्डमा जसको पहिला कम्पनी दर्ता भएको हो सोही कम्पनीले सो नाम पाउने छ,’उनले भने ।
श्रेष्ठका अनुसार सिद्धार्थ डेभलपमेन्ट बैंक २०५६ सालमा दर्ता भएको छ भने सिद्धार्थ बैंक २०५९ सालमा दर्ता भएको अभिलेख छ । यो अवस्थामा उत्पन्न विवादमा सिद्धार्थ डेभलपमेन्ट बैंकको दावी कानुन सम्मत देखिने उनले बताए ।
यस विवादमा सिद्धार्थ बैंकका प्रवद्र्धकको पहुँच र पावरका आधारमा नेपाल राष्ट्र बैंक उसको पक्षमा उभिएको र साना लगानीकर्ता रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अनावश्यक दवाव दिएको जानकारहरु बताउँछन् ।