काठमाडौं, ४ पुस । नेपालका लागि बेल्जीयमका राजदुत यन लक्सले पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार भएको बताएका छन् । सोमवार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा राजदुत लक्सले यस्तो धारणा राखेका हुन् । ‘राजनीतिक वातावरणमा भएको सुधार र नेतृत्वमा देखिएको आर्थिक समृद्धिको अभिलाषाले नेपालमा लगानीको वातावरण थप सुनिश्चित बन्दै गएको हामीले पाएका छौं,’ लक्सले भने । सकारात्मक बन्दै गएको वातावरणबाट लाभ लिन र उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गर्न सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने उनको धारणा थियो ।

नेपाल समेत हेर्ने जिम्मेवारी पाएको भारतको नयाँ दिल्लीस्थित राजदुतावासबाट लक्सको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले परिसंघका पदाधिकारीहरु सँग परिसंघ सचिवालयमा भेटवार्ता गरेको हो । नेपालका लागि बेल्जीयमका अबैतनिक महावाणिज्य दुत आङ छिरिङ शेर्पा समेत सहभागी सो वार्ता दुई देश बीचको आर्थिक संवन्ध विकास र विस्तारमा केन्द्रित थियो ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले हालसम्म नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका सबै विदेशी कम्पनीहरुले उच्च दरमा लगानीको प्रतिफल प्राप्त गरिरहेको बताउँदै बेल्जीयमका लगानीकर्तालाई त्यसका लागि आह्वान गरे । ‘प्रतिफलका हिसावले विदेशी कम्पनीहरुले हाँसिल गरेको प्रगती उदाहरणीय छ, शर्माले भने, ‘न्यून प्राविधिक र पूर्वाधार विकासको अवस्थामा रहेको नेपालबाट यस्तो प्रतिफल सम्भव छ भनेर सबैले जानकारी पाउन जरुरी छ ।’ परिसंघले देशको आर्थिक उन्नतीको लागि सरकारसँग मिलेर विदेशी लगानी र प्रविधि भित्राउन जोड दिइरहेको शर्माको भनाई थियो ।
परिसंघले सरकारसँगको सहकार्यमा औद्योगिक व्यवसाय ऐन र बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा सुधारका लागि काम गरेको परिसंघका गभर्निङ काउन्सिल सदस्य योगेश्वर लाल श्रेष्ठको भनाई थियो । ‘कुनै बेला नेपाली गलैचाको प्रमुख खरिदकर्ता बजार रहेको बेल्जीयम अहिले नेपालमा वस्तु आपूर्ति गर्ने बजारमा परिणत भएको छ, श्रेष्ठले भने ।
अहिले दुई देश बीच कायम दौत्य सम्वन्धलाई थप विस्तार र सुदृधिकरण गर्न दुई देश बीचका व्यवसायिक संघ संस्थाहरुको बीचमा समेत आपसी सहकार्य आवश्यक भएको जनाउदै उनले राजदूतावासको पहलमा बेल्जीयम स्थित यस्ता संघ संस्थासंग सहकार्य गर्न परिसंघ इच्छुक रहेको समेत बताए ।बेल्जीयमका निजी क्षेत्रका व्यवसायिक संस्थाहरुसँग आपसि सहमती गरेरअगाडी बढ्दा बेल्जीयम र नेपालको व्यावसायिक हितलाई मद्दत पुग्ने अध्यक्ष शर्माको भनाई थियो ।
सो अवसरमा परिसंघ पदाधिकारीहरुको साथै गभर्निङ काउन्सिल र राष्ट्रिय काउन्सिलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।