काठमाडौं, ४ पुस । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा ७ दिने जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको छ । उक्त प्रदर्शनी यहि पुस ५ देखि पुस ११ गतेसम्म हुने भएको छ ।

उक्त १३औं राष्ट्रिय औद्योगिक प्रदर्शनी “आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । उक्त आयोजनामा कपडा तथा सिलाई व्यवसायी संघको सहभागिता रहेको छ । एउटै छानामुनी स्वदेशी वुट र स्वदेशी सुटको प्रर्दशनी आयोजना हुनुले पनि यो प्रदर्शनीको विशेष महत्व रहनेछ ।
प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरु र नेपाल कपडा तथा सिलाई व्यवसायी गरि करिव १२५ वटा स्टल रहने आयोजकले बताएका छन् । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डल एवं सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु तथा आकर्षक डिजाइनका सर्टिङ सुटिङ्गका डिजाईनहरु तथा फुड स्टलहरु प्रदर्शनीमा रहनेछन् ।
साथै, जुत्ता-चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिने आयोजकले बताए ।