काठमाडौं, ३ पुस । सधै विवादमा आउने नेशनल हाईड्रो पावर कम्पनीमा ५५ करोड ५४ लाख रुपैयाँ घोटाला भएको भेटिएको छ । आर्थिक वर्ष २०६८/६९ देखि २०७१/७२ सम्मको आयव्यय लेखापरिक्षण गरी तयार पारिएको हिसाव कितावमा उक्त रकम बराबरको कारोबार अनियमित तरिकाबाट गरिएको लेखापरिक्षकले औल्याएका छन् ।
नेशनल हाईड्रपावरको सबैभन्दा ठूलो रकम सुनकोशी जलविद्युत आयोजनामा नाममा खर्च देखाएर प्रवद्र्धकहरुले करोडौ रुपैयाँ अनियमितता गरेका छन् । नेशनल हाईड्रोको सहायक कम्पनीको रुपमा खडा गरिएको सुनकोशी हाइड्रो पावरले सुनकोसीमा ४.५ मेघावाटको आयोजना बनाउने प्रयास गरेको थियो । ३५ करोड रुपैयाँ सेयर लगानी लगानी, १९ करोड ऋण देखिएको सो कम्पनीमा हालसम्म ५४ करोड खर्च गरेको देखिएको छ । निर्माणको काम २० प्रतिशत पनि नहुँदै सरकारले यस कम्पनीलाई दिएको निर्माण तथा सञ्चालन अनुमति (लाईसेन्स) खारेज गरिसकेको छ । सो कम्पनीमा भएको सबै लगानी माटोमा विलाएको छ ।
सुनकोशी हाईड्रोपावर कम्पनीको नाममा नबिल बैंकबाट १९ करोड ९९ लाख ७४ हजार ९०७ रुपैयाँ ऋणमा पनि नेशनल हाईड्रोपावर कम्पनी फसेको छ । सो ऋण लिदाँ नेशनल हाईड्रका सञ्चालक लक्ष्मी बहादुर श्रेष्ठ र प्रबन्ध निर्देशन जेन श्रेष्ठ (जीतबहादुर श्रेष्ठका छोरा) जमानत बसेकाले सुनकोशी हाइड्रोपावर डुबेपछि नेशनल हाइड्रोपावर कम्पनी तानिएको छ । सुनकोशीमा ९७ प्रतिशत सेयर नेशनल हाइड्रोको हो ।
यस्ता छन् घोटालाका उदाहरण

नेशनल हाइड्रो पावर कम्पनीले नक्कली हकप्रद सेयर निश्काशनबाट ७ करोड रुपैयाँ संकलन गरेर र सो रकम सुनकोशीमा लगानी भएको व्यवस्थापनले जनाएको छ । हकप्रद सेयर निश्काशन गरेको र सुनकोशीमा लगानी गरेको प्रमाण कम्पनीसँग नभएको लेखापरिक्षक ज्योति प्रकाश पाण्डेले टिप्पणी गरेका छन् ।
अर्को शिर्षकमा सुनकोशी हाईड्रोपावर कम्पनीको नाममा ६ करोड ४२ लाख ५७ हजार ६४१ रुपैयाँ अग्रिम भुक्तानी भएको देखाएर घोटाला गरिएको छ । तर भुक्तानी लिनेले रकम बुझिलिएको कुनै प्रमाण छैन ।
नेशनल हाईड्रोमा घोटालाका अनेकौ रुपलाई लेखापरिक्षण प्रतिवेदले औल्याएको छ । सामान खरिदका लागि अग्रिम भुक्तानी भनेर १ करोड भुक्तानी गरिएको छ । त्यसको सपोटिङ डकुमेन्ट केही पनि छैन ।
पिङसिङ माइनिङ शिर्षकमा ४ करोड ५३ लाख ६१ हजार ५९४ रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ । सुपरभाईजर प्रभुख बीआर गोर्खालीको नाममा ३ लाखसहित परामर्श, मर्मतको नाममा १२ लाख ५२ हजार २२७ रुपैयाँ खर्च गरिएको देखाइएको छ । तर सो रकम वास्तविक भुक्तानी भएको देखिने प्रमाण नहेको लेखापरिक्षक पाण्डेले जनाएका छन् ।
त्यतिवेला एनबी समूहको पकडमा रहेको एनबी इन्स्योरेन्स कम्पनीबाट ३८ लाख रुपैयाँ लिन बाँकी देखाईएको छ । त्यस्तै, अपरिचित व्यक्ति तथा संस्थाबाट करिव ११ लाख लिन बाँकी देखाईएको छ ।
एनबी समूह कै कम्पनी काठमाडौं रिक्रियशन सेन्टरलाई करिव ४८ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको छ । त्यस्तै कुनै व्यक्ति वा कम्पनी केही उल्लेख नगरी अग्रिम पारिश्रमिक भनेर ३ लाख १२ घोटाला गरिएको छ । कार्यालयमा काम गर्नलाई अग्रिम भुक्तानी शिर्षकमा २० लाख ९२ हजार घोटाला गरिएको छ ।
यस्ता विविध शिर्षकमा १३ करोड २९ लाख घोटाला भएको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
निर्माणदेखि नै घोटाला
१५ वर्षअघि निर्माण सम्पन्न भएको ७.५ मेघावाट क्षमताको नेशनल हाइड्रोको लागत १ अर्ब ७५ करोड २२ लाख रुपैयाँ देखाईएको छ । जसमा प्रति मेघावाट निर्माण लागत २३ करोड ३६ लाख २७ हजार रुपैयाँ हुन्छ । जबकी अहिले पनि प्रतिमेघावटा १६ करोड रुपैयाँ लाग्छ ।
एक जना अनुभवी लगानीकर्ताले भने–२० वर्षअघि निर्माण शुरु गरिएको र १५ अघि नै निर्माण सम्पन्न भएको यस परियोजनामा ७० करोड रुपैयाँ भन्दा बढी खर्च हुन सक्दैन । निर्माणको बेलामा ८० प्रतिशत सेयर एनबी समूहमा रहेकाले सो समूहले मनपरी खर्च देखाएर लागत उच्च बनाएको जानकारहरु बताउँछन् ।
यस्तै अनियमितताका कारण २० वर्षदेखि कम्पनीले सेयरधनीलाई एक रुपैयाँ पनि लाभांश दिन सकेको छैन । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ छ । २०७२ असार मसान्तसम्ममा कम्पनी ३० करोड संचित नोक्सानीमा छ । कम्पनी करिव ८ करोड रुपैयाँ ऋणमा छ ।
विवादित यस कम्पनीले गत मंसिर २६ गते राखेको साधारणसभामा गणपुरक सेयरधनी नपुगेपछि स्थागित भएको छ । साधारणसभा पुस १३ गतेलाई बोलाईएको छ ।
नेशनल हाईड्रो जस्तै जलविद्युत क्षेत्रमा धेरै कम्पनीहरुले सर्वसाधारणलाई सेयर बिक्री गरे पैसा उठाएका छन् । तर नियमनकारी निकायको अभावमा जलविद्युत कम्पनीका प्रवद्र्धकहरु किर्ते कारोबार देखाई खर्च बढाउने, त्यसबाट प्रवद्र्धकहरुले मात्र लाभ लिने, साधारण सेयरधनी सधै मर्कामा पर्ने गरेको देखिएको छ ।